‘गंदी बात’की हिरोइन आइसीयूमा भर्ना, गम्भीर अवस्थामा भेन्टिलेटरमा राखियो
मुम्बइ। अभिनेत्री गहना वशिष्ठ गम्भीर बिरामी भएकी छिन् । उनलाई भेन्टिलेटरमा राखिएको छ । बिहीबार वेब सिरिजको सुटिङ गरिरहेका बेला साँझ साढे ४ बजे उनी अचानक बेहोस भएकी थिइन् । उनलाई तुरुन्त अस्पताल लगियो जहाँ उनलाई आइसीयूमा भर्ना गरिएको छ । स्पटब्वायको समाचारअनुसार उनको स्थिति गम्भीर छ ।
रक्षा अस्पतालका डा. प्रणव काबराका अनुसार गहनाले प्ररम्भिक उपचारप्रति कुनै प्रतिक्रिया दिएकी छैनन् । साथमा उनलाई सास फेर्न पनि समस्या भइरहेको छ । उनलाई भेन्टिलेटरमा राखिएको छ । अहिले उनको स्थिति निकै नाजुक छ । उनलाई निरन्तर निगरानीमा राखिएको छ । जानकारीअनुसार गहना उचित पोषणबिना ४८ घण्टा लगातार सुटिङ गरिरहेकी थिइन् । डाक्टरका अनुसार उनी मधुमेहले समेत पीडित छन् । उनको रक्तचाप निकै कम छ ।
डाक्टरले अगाडि भने ‘मैले अहिले केही भन्न सकिरहेको छैन । हामीले परीक्षणको नतिजा पर्खिरहेका छौं । हामीलाई बताइएअनुसार उनले केही इनर्जी ड्रिंक्स लिएकी थिइन् । उनले मधुमेह र अन्य केही रोगको औषधी पनि खाइरहेकी थिइन् । अहिलेसम्म उनले खाएको केही कुराले प्रतिक्रिया गरेको हो कि अरु कुनै कारण हो भन्ने थाहा हुन सकेको छैन ।’ गहनालाई अस्पताल लैजाने सहकर्मीका अनुसार गहनाले केवल इनर्जी ड्रिंक्स मात्र लिएकी थिइन् । ३६ घण्टादेखि उनले केही खाएकी थिइनन् । यसअघि उनले अल्ट बालाजीको वेब सिरिज गंदी बातमा काम गरेकी थिइन् ।
Facebook Comment