चर्चित बलिउड अभिनेत्री शबाना आजमीकी आमा शौकतको निधन
मुम्बइ। भारतकी लोकप्रिय अभिनेत्री शबाना आजमीकी आमा शौकत आजमीको निधन भएको छ । शबानाकी आमा शौकताको ९३ वर्षको उमेरमा मुम्बईमा निधन भएको हो । गीतकार जावेद अख्तर (शौकतका ज्वाइँ) का अनुसार स्वास्थ्यमा समस्या देखिएपछि शौकतलाई कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा भर्ना गरिएको थियो । केही दिन उनलाई आइसियूमा राखिएपछि घर फिर्ता लगिएको थियो ।
शौकतले घर फर्किने इच्छा व्यक्त गरेपछि घर लगिएकोमा उनको शुक्रबार राति निधन भएको हो । शौकत चर्चित साहित्यकार एवम् गीतकार कैफी आजमीकी श्रीमती हुन् । कैफीको निधनपछि शौकतले आत्मकथा लेखेकी थिइन् । उनको आत्मकथा कैफी और मैं, लाई पछि नाटकमा रुपान्तरण गरिएको थियो । शौकत आजमी पनि अभिनेत्री हुन् । उनले लामो समय रंगमञ्चमा काम गरिन्, यस्तै केही चलचित्रमा पनि उनको अभिनय थियो । उनका लोकप्रिय चलचित्रमा उमराव जान र सलाम बाम्बे रहेका छन् ।
Facebook Comment