नाटकीय रुपमा बन्यो महाराष्ट्रमा भाजपा सरकार
नयाँ दिल्ली (एजेन्सी) । भारतको महाराष्ट्रमा शनिबार नाटकीय रुपमा भारतीय जनता पार्टीले सरकार बनाएको छ । शुक्रबार साँझसम्म काँग्रेस आई, शिवसेना र राष्ट्रवादी काँग्रेसको गठबन्धनबाट शिवसेना नेता उद्धव ठाकरे मुख्यमन्त्री लगभग टुंगो लागे पनि शनिबार भने वर्तमान मुख्यमन्त्री भाजपा नेता देवेन्द्र फडणवीसले अर्को कार्यकालका लागि मुख्यमन्त्रीको शपथ लिएका छन् । यस्तै राष्ट्रवादी काँग्रेसका नेता अजित पवारले उपमुख्यमन्त्रीको सपथ लिएका छन् ।
शुक्रबार अबेर राती भाजपा नेता देवेन्द्र फडणवीसले राज्यपाल भगतसिंह कोश्यारीलाई भेटेर सरकार बनाउने दावी पेस गरेका थिए । उनले आफ्नो समर्थनमा १७३ विधायक रहेको दावी गरेका थिए । भाजपा, राष्ट्रवादी काँग्रेस र १४ स्वतन्त्र गरेर १७३ विधायकको समर्थन देखाएपछि राज्यपाल कोश्यारीले महाराष्ट्रमा लागेको राष्ट्रपति शासन हटाउन केन्द्र सरकारलाई सिफारिस गरेका थिए । केन्द्र सरकारले शनिबार बिहान ५ बजे नै राष्ट्रपति शासन हटाइएको जानकारी राज्यपाल कोश्यारीलाई दिएको थियो । त्यसपछि त्यसपछि राज्यपाल कोश्यारीले शनिबार बिहानै देवेन्द्र फणडवीसलाई मुख्यमन्त्रीको शपथ गराएका थिए ।
हालै भएको विधानसभा निर्वाचनमा शिवसेना र भाजपा गठबन्धन बनाएर चुनाव लडेका थिए । उता काँग्रेस आई र राष्ट्रवादी काँग्रेसले पनि गठबन्धन बनाएर चुनाव लडेका थिए । शिवसेना–भाजपा गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि चुनावी नतिजापछि शिवसेनाले सत्तासझेदारीमा आधा कार्यकाल मुख्यमन्त्री मागेपछि यो गठबन्धन तोडिएको थियो । त्यसपछि केन्द्र सरकारले त्यहाँ राष्ट्रपति शासन लगाएको थियो । यहीबीचमा काँग्रेस, राष्ट्रवादी काँग्रेस र शिवसेनाले गठबन्धन गरेर सरकार बनाउने तयारीसमेत गरेका थिए । तर, राष्ट्रवादी काँग्रेसका नेता अजित पवारले नै भाजपालाई समर्थन जनाएपछि महाराष्ट्रमा नाटकीय रुपमा भाजपाले सत्ता स्थापना गरेको छ ।
तर, राष्ट्रवादी काँग्रेसका अध्यक्ष शरद पवारले भने देवेन्द्र फणडवीस सरकारले विधानसभामा बहुमत प्राप्त गर्न नसक्ने बताएका छन् । भाजपाले राष्ट्रवादी काँग्रेसमा विभाजन गरेर सरकार बनाएको देखिएको छ । तीन दल काँग्रेस, राष्ट्रवादी काँग्रेस र शिवसेनाले अझै पनि सरकार आफैले बनाउने दावी गरिरहेका छन् । फणडवीसले यही नोभेम्बर ३० सम्म संसदमा बहुमत प्राप्त गर्नुपर्ने छ । संसदमा उनले बहुमत नपाए उनको सरकार ढल्ने छ ।
उता देवेन्द्र फणडवीसलाई मुख्यमन्त्रीको शपथ गराएपछि काँग्रेसले तिखो प्रतिक्रिया दिएको छ । भाजपा नेता रहेका राज्यपाल कोश्यारीले भाजपा अध्यक्ष अमित शाहको इसारामा काम गरेको काँग्रेसले प्रतिक्रिया दिएको छ । काँग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले राज्यपालले मुख्यमन्त्रीलाई चोर जस्तै गरेर शपथ गराएको बताएका छन् । उनले भाजपाले लोकतन्त्र नै संकटमा पारेको समेत बताएका छन् ।
Facebook Comment