समाजवादीले सरकार नछोड्ने, मन्त्रिमण्डल पुनर्गठनप्रति भने असन्तुष्टि

काठमाडौं। सत्ता साझेदार सामाजवादी पार्टीले हालै प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिमण्डल पुनर्गठनप्रति असन्तुष्टि जनाएको छ। पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव दिल्ली भ्रमणमै रहेका बेला प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनगर्ठन गरेका थिए। असन्तुष्टि जनाए पनि सरकार भने नछोड्ने भएको छ।
शुक्रबार अबेर स्वदेश फर्किएका अध्यक्ष यादवले शनिबार पदाधिकारी बैठक बोलाएका थिए। शनिबार अबेर सकिएको पदाधिकारी बैठकले पुनर्गठनप्रति असन्तुष्टि जनाउने निर्णय गरेको एक पदाधिकारीले डिसी नेपाललाई जानकारी दिए।
बैठकले सरकारसँग समाजवादी पार्टी सरकारमा जाँदा भएका सहमति कार्यान्वयन गराउने विषयमा र मन्त्रिमण्डल पुनर्गठनका विषयमा आफ्नो असन्तुष्टि राख्न वार्ता समितिसमेत गठन गरेको छ।
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री यादवको जिम्मामा रहेको स्वास्थ्य मन्त्रालय खोसेका थिए भने कानून मन्त्रालयको जिम्मा दिएका थिए। यस्तै समाजवादीबाट राज्यमन्त्री भएकालाई पनि पदमुक्त गरिएको थियो।
समाजवादी पार्टीको पदाधिकारी वैठकको निर्णय :
१. प्रधानमन्त्रीद्वारा सत्तासाझेदार दल समाजवादी पार्टीसँग कुनै परामर्श नगरी हालै भएको मन्त्रीमण्डल पुनर्गठन संयुक्त सरकारको राजनीतिक मूल्य, मान्यता र संस्कृति प्रतिकूल भएकोले यसप्रति हामी गम्भीर असहमति प्रकट गर्दछौं।
२. असहमत भएका विषय र हाम्रो पार्टीसँग भएको दुई बुँदे सहमतिको कार्यान्वयनका सन्दर्भमा सरकार र सरकारसम्बद्ध पार्टी नेकपासँग वार्ता गर्न वार्ता समिति निर्माण गरेका छौं ।
३. वार्ता समितिमा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राई र सह अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ रहनुभएको जानकारी गराउँदछौं ।
Facebook Comment