विद्यार्थीलाई सर्पले डसेपछि शिक्षक निलम्बित
नयाँ दिल्ली (एजेन्सी) । भारतमा कक्षाकोठामै सर्पले डसेर एक विद्यार्थीको मृत्यु भएपछि त्यस विद्यालयका प्रधानाध्यापक निलम्बनमा परेका छन् । शेहला शेरिनका सहपाठी तथा परिवारका सदस्यहरूले उक्त घटनामा विद्यालयले लापरबाही गरेको र समयमै उनलाई अस्पताल नलगेको आरोप लगाएका छन् ।
उक्त घटनाले केरला राज्यमा आक्रोश उत्पन्न भएको छ। स्थानीय अधिकारीहरूले उक्त विद्यालयका उपप्रधानाध्यापकलाई पनि निलम्बन गरिदिएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार स्थानीय समयानुसार दिउँसो तीन बजे शेरिनले आफूलाई सर्पले डसेको बताएकी थिइन्। प्राप्त विवरणअनुसार सर्प कङ्क्रिटको भुइँमा एउटा दुलोमा बसेको थियो ।
उनका सहपाठीहरूका अनुसार शेरिनले सर्पले डसेको एक शिक्षकलाई बताएको भए पनि उनले उपचार गराउने विषयमा वास्तै गरेनन् । ती शिक्षक पनि निलम्बनमा परेका छन् ।
एक घण्टापछि शेरिनका पिताले उनलाई विद्यालयबाट लिएर गए । त्यस बेलासम्म उनलाई अस्पताल लगिएको थिएन । उनका अभिभावकका अनुसार सर्पदंशको उपचार गर्ने औषधि तीन ठाउँमा नपाइएपछि चौथो स्थानमा जाँदै गर्दा शेरिनको बाटामै मृत्यु भयो ।
यस घटनाले केरलामा विद्यालयको स्थितिलाई लिएर गुनासो तथा विरोध गर्ने क्रम बढेको छ । सरकारी अधिकारीहरूले स्थानीय विद्यालयको सरसफाइ तथा निरीक्षण गर्न निर्देशन दिएका छन् ।
केरलाको मानव अधिकार आयोगका साथै विभिन्न निकायले उक्त घटनाको जाँच गरिरहेका छन् । घटना भएको वायनाड जिल्लाका सांसद राहुल गान्धीले राज्यका मुख्यमन्त्रीलाई चिठी लेखेका छन् । त्यसमा उनले विद्यालयहरूको ‘जीर्ण पूर्वाधारबारे’ ध्यानाकर्षण गराउनुका साथै पीडितका परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेका छन् ।
Facebook Comment