सीताराम विवाह महोत्सवमा सहभागीका लागि आम समुदायलाई निम्तो

डिसी नेपाल
९ मंसिर २०७६ १२:२८

आजु शुभ दिन मङ्गल–मङ्गल गाउँ हे
जानकीक होएत विवाह जनकपुर आउ हे

जनकपुरधाम। मिथिलाको प्राचीन राजधानी जनकपुरधामको हरेक स्थानमा आजभोलि यस्तै रामायणकालीन मङ्गल गान सुनिन्छ। यही मङ्सिर १५ गते हुने गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसारको सीताराम विवाह महोत्सवमा आम समुदायलाई सहभागी हुन निम्तो हो – मङ्गाल गान।

जनकपुरमा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरू विश्वामित्रसँग जनकपुरधाम आई धनुष भङ्ग गरी सीतासँग स्वयमवर गर्नु आदि स्मृतिमा सीताराम विवाह महोत्सव यहाँ मनाइने चलन रहेको छ।

रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयंवरमा विभिन्न देवी देवताको उपस्थिति रहेको थियो। यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता हो। सीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि विहेसम्म सहभागी हुन्छन्।

यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईलगायत अन्य धर्मावलम्वीहरू पनि सामेल हुनेगरेका छन्। महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार गरिँदा त्रेतायुगको झलक यस कलियुगमा देख्न पाइन्छ।

पौराणिक व्यवस्था अनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमि पुर्याइन्छ। त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमि लगिने प्रचलन रहिआएको छ।

रङ्गभूमिमा स्वयंवर सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ। जनकपुरधामका बारेमा मिथिला महात्म्यमा वर्णन गरिएअनुसार “जानकी जन्मभूम्यां यः प्राणत्याग करौति वे, न याति विष्णुपदवी पापराशिमतौ पि हि” अर्थात् जानकीको जन्मभूमिमा जसको देहत्याग हुन्छ, त्यो व्यक्ति सयौँ पापको भागी भएर पनि विष्णु लोक पुुग्नेछ । यही कारणले पनि जनकपुर नपुगेकाहरू जीवनमा एकपटक यहाँ आउन चाहन्छन्। यसका लागि सीताराम विवाह महोत्सवलाई सुवर्ण अवसरका रूपमा मानिएको छ।

विवाह महोत्सवका अवसरमा निस्किने डोला शोभायात्रामा देशका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु पनि सहभागी हुने गर्छन् । रङ्गभूमिमा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित श्रद्धालुको उत्साहमा यो महोत्सव वास्तविक विवाहभन्दा रमाइलो हुनेगर्छ।

फूलबारी प्रसङ्गदेखि स्वयंवरसम्मको आयोजनाले महोत्सव दैवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभव गर्दै सहभागी मिथिलाका नारी तथा पुरूष आफूलाई धन्य सम्झन्छन् । यसैबीच महोत्सवको तयारी तीव्र बनाइएको छ । यसपटक अयोध्याबाट पनि भगवान् रामको प्रतीकात्मक जन्ती आउने भएकाले महोत्सवलाई भव्यता प्रदान गर्ने किसिमले तयारी भइरहेको मन्दिरका सहायक महन्त रामरोशन दास बताउँछन्।

दासका अनुसार यही मङ्सिर १३ गते अयोध्याबाट भगवान् रामको प्रतीकात्मक जन्ती जनकपुरधाम आउने र जन्तीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजा अर्चना र रङ्गभूमि (बाह्र विघा) मैदानमा जन्तीलाई स्वागत र सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सीताराम विवाह महोत्सको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत मङ्सिर १० गते जनकपुरधाम नगर दर्शन, ११ गते फूलबारी लीला, १२ गते धनुष यज्ञ, १३ गते अयोध्याबाट आएका जन्तीलाई स्वागत र तिलकोत्सव, १४ गते मटकोर, १५ गते स्वयंवर तथा शुभ विवाह र १६ गते राम कलेवा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *