१५ श्रीमतीसँग बस्छन् गरिब देशका राजा, श्रीमतीका लागि किने २ अर्बको कार
काठमाडौं। उनको देश संसारका सबैभन्दा गरिब देशहरुमध्ये एक हो । यहाँका करिब ६३ प्रतिशत जनता गरिबीको रेखामुनी छन् । तर यो देशका राजा भने विलासी जीवन बाँच्न कुनै कमी छोड्दैनन् । यी राजा हुन् अफ्रिकी देश स्वाजिल्याण्डका जसले आफ्नो देशको नाम समेत फेरेर अहिले इस्वातिनी बनाएका छन् । स्वाजिल्याण्डका राजा मस्वती–३ का १५ जना श्रीमती छन् । उनले हालै श्रीमतीहरुका लागि १३ मिलियन पाउण्ड (२ अर्ब नेपाली रुपैयाँ)का बिलासी कार किनेका छन् । राजाले यसरी कार किनेपछि यस विषयमा धेरै प्रश्न उठिरहेका छन् ।
स्वाजिल्याण्ड धेरै कारणले बदनाम रहने गरेको छ । यहाँ बहुविवाह वैध छ । अहिले राजाकै १५ जना श्रीमती छन् र उनकी एक श्रीमतीको मृत्यु भइसकेको छ । स्वाजिल्याण्डमा हरेक वर्ष शरीरको माथिल्लो भाग पूरै नग्न अवस्थामा कुमारी केटीहरुको परेड हुन्छ । यो परेडबाट राजाले हरेक वर्ष आफ्नो लागि एक नयाँ श्रीमती रोज्छन् । जो केटीहरु यो परेडमा आउँदैनन् उनीहरुलाई विभिन्न किसिमका सजाय दिइन्छ ।
नग्न केटीहरुको परेडबाट राजाले श्रीमती रोज्ने यो प्रथामाथि प्रश्न उठिरहेका छन् तर तमाम विरोधमा बावजुद यसलाई बन्द गरिएको छैन । हालै राजाले आफ्ना १५ श्रीमतीका लागि १५ रोल्स रोयस र दर्जनौं बिएमडब्लु कार किनेका छन् । गत वर्ष आफ्नो जन्मदिनको अवसरमा राजाले आफ्नो देशको नाम नै बदलिदिएका थिए । उनले आफ्नो देशको नाम स्वाजिल्याण्डबाट बदलेर इस्वातिनी बनाएका थिए । यद्यपि अझैसम्म धेरैजसोले यो देशलाई स्वाजिल्याण्डकै नामले चिन्छन् ।
न्यूज डटकम डट एयू को रिपोर्ट अनुसार राजा स्वयंको सम्पत्ति २०० मिलियन डलर (२३ अर्ब नेपाली रुपैयाँ) भएको अनुमान गरिन्छ । उनीसँग निजी विमानदेखि लिएर निजी एयरपोर्टसम्म छन् । २०१४ मा उनले आफ्नो घरको वार्षिक बजेट ६१ मिलियन डलर (७ अर्ब नेपाली रुपैयाँ) बनाएका थिए । अहिले एक पटक फेरि आफ्नो परिवारमा भारी रकम बर्बाद गरेकोमा आम नागरिक राजाको विरोध गरिरहेका छन् । सामाजिक संजालमा राजाको यति ठूलो रकम कारमा खर्च गर्ने कदमको कडा आलोचना भइरहेको छ । करिब १३ लाख जनसंख्या भएको स्वाजिल्याण्ड अफ्रिकामा छ । स्वाजिल्याण्डका छिमेकी देश दक्षिण अफ्रिका र मोजाम्बिक हुन् ।
स्वाजिल्याण्डमा हरेक वर्ष रिड डान्स सेरेमनी आयोजना गरिन्छ । सेप्टेम्बरमा आयोजना गरिने यो उत्सवमा हजारौंको संख्यामा (४० हजार सम्म) कुमारी केटीहरुले भाग लिन्छन् । खुला स्तनमा केटीहरुलाई परेड गराइन्छ । यो उत्सवको परम्पराअनुसार राजाले हरेक वर्ष यी केटीहरुबाट कुनै एकलाई आफ्नी श्रीमतीको रुपमा रोज्न सक्छन् । कैयौं युवतीहरुले गत वर्ष यसमा प्रश्न उठाउँदै यसमा भाग नलिएमा परिवारलाई जरिवाना तिराइने गरेको बताएका थिए ।
स्वाजिल्याण्डका राजा निकै ठूलो परिवारको साथमा बस्छन् । १५ श्रीमतीसँग बस्ने राजाको २५ सन्तान छन् । गत वर्ष राजाकी एक श्रीमतीको मृत्यु भएको थियो । मिडिया रिपोर्टमा ३७ वर्षकी सेन्तनी मसान्गोले आन्महत्या गरेको बताइएको थियो । मस्वती ३ १९८६ देखि राजाको पदमा छन् । यसअघि उनले २५ मिलियन डलर (झण्डै ३ अर्ब नेपाली रुपैयाँ)मा बिलासी जेट विमान खरिद गरेका कारण पनि विवादमा परिसकेका छन् ।
यो देशका आम नागरिक भने बाँच्नका लागि आधारभूत आवश्इकताबाट पनि बञ्चित छन् । विश्व खाद्य कार्यक्रमका अनुसार यहाँको ६३ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छ । १५ देखि ४९ वर्ष उमेरका २५ प्रतिशत नागरिक एचआइभीबाट संक्रमित छन् । रिपोर्टका अनुसार देशको १० प्रतिशत जनसंख्या उच्च वर्गको छ । यी १० प्रतिशत नागरिकको खर्च देशको आधा जनसंख्याको बराबर छ ।
Facebook Comment