उपनिर्वाचन २०७६ : ‘वैकल्पिक शक्तिका लागि समाजवादीसँग एकताको गृहकार्य’

डिसी नेपाल
९ मंसिर २०७६ १५:१३

राजविराज। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भएको जनाएका छन्।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मा आज आयोजित उपनिर्वाचनको चुनावीसभालाई सम्बोधन गर्दै उनले शासक वर्गले मधेशी जनताको अधिकार नदिएका कारण मधेशी जनताको समस्या अझै समाधान हुन नसकेको बताए।

सरकारले मधेशी आदिवासी, जनजाति र पिछडिएका वर्गलाई अधिकार नदिएका कारण विभिन्न समयमा आन्दोलन हुने गरेको बताउँदै मधेशी जनताको अधिकार सुनिश्चित गर्न अब वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने उनले जोड दिए।

उनले वैकल्पिक शक्ति निर्माणका लागि सबै पक्षसँग एकता भइरहेको बताउँदै मधेशी जनताको अधिकारका लागि पहिचानवादी आन्दोलन गर्ने चेतावनीसमेत दिए। समाजवादी पार्टीसहित विभिन्न सात पार्टीसँग पार्टी एकताको गृहकार्य भइरहेको जानकारी दिँदै राजपा नेपाल तत्काल सरकारमा सहभागी नहुने स्पष्ट गरे।

प्रदेश नं २ का प्रदेश सभा सदस्य एवम् राजपा पार्टीका महासचिव मनिस सुमनले मधेश आन्दोलमा शहीद भएकाको सपना पूरा गर्न राजपा नेपाललाई उपनिर्वाचनमा जिताउनुपर्ने बताए। यही मङ्सिर १४ गते सो गाउँपालिका–७ मा अध्यक्ष पदका लागि एक स्थानमा निर्वाचन हुँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *