बालबालिकालाई सचेतनालेमात्र बचाउन सकिन्छ : प्रदेश प्रमुख
विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले बालबालिकालाई दूरगामी असरबाट बचाउन सचेत गराउँदै लैजानुपर्ने बताएका छन्। संयुक्त राष्ट्रसंघ बाल अधिकारसम्बन्धी महासन्धिको ३०औँ वार्षिकोत्सव एवं सिविन नेपालको ३२औँ वार्षिकोत्सव समारोहको सोमबार उद्घाटन गर्दै उनले बालबालिकाको समस्या समाधान गर्नु सबैको दायित्वभित्र बताएका हुन् ।
प्रदेश प्रमुख प्यासीले सामन्तवादी चिन्तनले बालबालिका जोखिममा पर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै बालबालिकाले आमाको गर्भदेखि समाजका हरेक क्षेत्रमा सास्ती भोगिरहेको चर्चा गरे ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले बालबालिकाको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुसँग छलफल गरेर बालबालिका संरक्षण ऐन ल्याउन लागेको जानकारी दिँदै बाल संरचनाहरु विद्यालयमा मात्र होइन समुदायमा पनि केन्द्रित हुनुपर्ने बताएका छन्।
कार्यक्रममा उपसभामुख सरस्वती पोखरेलले बालबालिकाको अधिकारका लागि स्थापना भएको संघसंस्थाले सरकारसँग हातेमालो गरेर हिँड्नुपर्ने बताइन् । प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले प्रदेश योजना आयोगले विसं २०८१ भित्रमा बालश्रममुक्त प्रदेश बनाउन विभिन्न योजना बनाएको जानकारी दिए
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले संविधानले बालअधिकारको पूर्ण रक्षा गरेकाले यसको व्याख्या स्थानीय तहसम्म हुनुपर्ने बताएका छन् । मोरङ प्रहरी उपरीक्षक विश्व अधिकारीले बालबालिकाको उच्चतम हित र संरक्षणमा नेपाल प्रहरी सदैव तयार रहेको जानकारी दिए।
सिविनका अध्यक्ष माधव मानन्धर र कार्यकारी निर्देशक सुम्निामा तुलाधरले यो संस्थाले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको हित र संरक्षणमा लागि गरेको बताएका छन्।
कार्यक्रममा पूर्वाञ्चल अनाथ आश्रमका सीता पोखरेल, बाल संरक्षण समूह बूढीगङ्गाका सुस्मिता क्रृषिदेव र सिविनका सदस्य डा गोविन्द सुवेदीले बालबालिका अधिकार स्थापित नहुन्जेल मुलुकमा समृद्धि नआउने धारणा राखेका थिए।रासस
Facebook Comment