अवैध भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ
पर्सा। पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट म एपीएफ टोलीले दुई लाख ६४ हजार दुई सय भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहार चम्पारण घर बताउने ३६ वर्षीय बिकास कुमार छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १४ गुल्म हेक्वा पर्साबाट सशस्त्र प्रहरी निरीक्षक मोहनबहादुर के.सी.को कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो।
बीआर ०५ एक्स ७५३७ नम्बरको भारतीय मोटरसाईकलमा सवार निज कुमारलाई शंका लागि जाँच गर्दा झोला भित्र लुकाई छिपाई ल्याउँदै गरेको दुई हजार दरको २४ थान, पाँच सय दरको ९९ थान, दुई सय दरको ६ सय थान र एक दरको ४ सय ६७ थान भारतीय रुपैयाँ फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका निज कुमारलाई बरामद भारतीय रुपैयाँ तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
यस्तै सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ चारकुने स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
बरामद सामान सेतुबन्ध मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाईएको छ ।
यसैगरि सोही जिल्लाकै कोशी गाउँपालिका ८ हनुमान मन्दिर स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट सशस्त्र प्रहरी निरीक्षक पे्रमसिंह विष्टको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान सेतुबन्ध मुल भन्सार कार्यालय कोशी व्यारेजमा बुझाएको छ ।
Facebook Comment