दाङमा सत्तारूढ नेकपा र प्रतिपक्षी काँग्रेसबीच कडा प्रतिस्प्रर्धा

डिसी नेपाल
९ मंसिर २०७६ १८:४०

दाङ । दाङमा मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनमा सत्तारूढ नेकपा र प्रतिपक्षी काँग्रेसबीच कडा प्रतिस्प्रर्धा हुने देखिएको छ । निर्वाचन नजिकिँदै गर्दा दाङका गाउँगाउँमा चुनावी माहोल तातेको छ । दाङको क्षेत्र नं ३ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारले बिहानदेखि राति अबेरसम्म टोल÷टोल एवं घरघरमै पुगेर चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।

विशेष गरी घरदैलो कार्यक्रमलाई उम्मेदवारले तीव्रता दिएका छन् । पार्टीका स्थानीय कार्यकर्तादेखि केन्द्रीय नेतासमेत प्रचारप्रचारमा सक्रिय छन् । गाउँ र टोलमा हुने चुनावीसभामासमेत केन्द्रीयस्तरका नेता पुगेर आफ्नो पार्टीको पक्षमा मतदान गर्न मतदाताहरुलाई आग्रह गर्न थालेका छन् ।

जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धा उम्मेदवाबीच चलेको देखिन्छ । मतदाताले भने बाटोघाटो तथा पुल निर्माण, कृषि क्षेत्रको विकास माग्ने गरेको पाइएको छ । आफ्नो क्षेत्रमा हुने विकास निर्माणका कामलाई प्राथमिकतामा राख्न आग्रह गर्ने गरेको सुनिन्छ ।

यस क्षेत्रमा सत्तारुढ दल नेकपा र मुख्य प्रतिपक्ष काँग्रेसका उम्मेदवारबीच मै कडा प्रतिस्पर्धा हुने देखिएको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट स्व प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी पत्नी विमलाकुमारी खत्री ओली चुनावी मैदानमा छिन । त्यस्तै काँग्रेसबाट पुराना नेता केशवराज शर्मो चुनावी मैदानमा छन् ।

यस्तै राप्रपा, राप्रपा (संयुक्त), काँग्रेस (बिपी), नेकपा (माले), मङ्गोलिएन पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी, समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र दुई जना स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्तभएको थियो ।
यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार उत्तरकुमार ओलीले २३ हजार ९ सय ७० मत ल्याउँदै विजयी भएका थिय भने काँग्रेसका बुद्धिराम भण्डारीले १७ हजार ५ सय ३५ मत प्राप्त गरेका थिय । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा अहिले २४ हजार ६८ मतदाता थपिएका छन् ।

दुई हजार सुरक्षाकर्मी

दाङमा हुने दुई स्थानको उपनिर्वाचनलाई लक्षित गरी दुई हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् । निर्वाचन क्षेत्र नं ३ को (२) र घोराही १६ का लागि दुई हजार सुरक्षाकर्मी परिचालन हुने भएका हुन् ।

जसका लागि २२ स्थानमा अस्थायी क्याम्प नै राखेर सुरक्षाकर्मी परिचालन गरिने जिल्ला सुरक्षा समिति दाङले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी दुई हजार सुरक्षाकर्मी परिचालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए।

दुई हजार सुरक्षाकर्मीसँगै २६ वटा सवारीका साधानसमेत प्रयोग गरेर सुरक्षाकर्मी परिचालन हुने उनले बताए। यही मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई भयरहित र मर्यादित बनाउन आवश्यक सुरक्षा रणनीति प्रभावकारी बनाइएकोसमेत प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए।

निर्वाचनहुने क्षेत्रमा अहिले पनि गस्तीमा सुरक्षाकर्मी खटिसकेका छन् । सुरक्षित निर्वाचनका लागि सुरक्षा संवेदनशीलताका आधारमा आवश्यक सुरक्षाकर्मीको व्यवस्थासमेत गरिएको सुरक्षा समितिले जनाएको छ ।

मतदाता शिक्षा शुरु

दाङमा हुने दुई स्थानको उपनिर्वाचनका लागि खटिने कर्मचारीकालाई सोमबार र मंगलबार तालीम दिन शुरु गरिएको छ । दुई स्थानका ३४ मतदानस्थल र ८२ केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालीम दिन लागिएको हो । निर्वाचनमा ४ सय १० कर्मचारी र ३ सय २६ स्वयमसेबक खटिने भएका छन् ।

मङ्सिर ११ गतेदेखि मतदानस्थलमा खटिने गरी अधिकृत र सहायक मतदान अधिकृतलाई कसरी निर्वाचन गराउने विषयमा तालीम दिन लागिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए।

निर्वाचनको अवधिमा ८२ मतदान अधिकृत, ८२ सहायक मतदान अधिकृत, १ सय ६४ जना सहायक कर्मचारी र ८२ सहयोगी खटिने छन् । यस्तै ३ सय २६ जना कर्मचारी स्वयंम सेवकका रुपमा खटाइने भएको छ भने गत बिहीबार ५ गतेबाट मतदाता शिक्षा पनि सञ्चालन भइरहेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *