एक इन्च पनि जमिन अतिक्रमित हुन दिन्नौं : अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताएका छन् । नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने बताएका हुन।
पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने,“सरकारले यसको कूटनीतिक पहल शुरु गरिसकेको छ । नेपालको भूिम फिर्ता भएरै छाड्छ ।” नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको बताउँदै भने,“अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो ।”
दुई पार्टीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै देशमा समृद्धि, सुशासन, स्थायित्व र विकासका लागि भएको प्रचण्डको भनाइ थियो । उनले पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थबाट नभएको स्पष्ट पारे।
अध्यक्ष दाहालले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको बताए। उनले भने, “प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष सरकारको नेतृत्वमार्फत राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढीकरण र सङ्गठन विस्तारमा केन्द्रित हुन्छु ।”
अध्यक्ष दाहालले आसन्न उपनिर्वाचनमा ८० प्रतिशतभन्दा बढी स्थानमा नेकपाले विजय हासिल गर्ने दाबी पनि गरे। नेकपाको नेतृत्वमा गठित सरकारले देशको योजनाबद्ध विकासमा खेलेको भूमिकाका कारण देखिएको जनलहर देखेर प्रतिक्रियावादी अनर्गल प्रचारमा लागेको दाहालको भनाइ थियो ।
निर्वाचन परिचालन समितिकी संयोजक दिलकुमारी थापा रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नं ३ का सह–इन्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेशसभा सदस्य कृष्ण भूर्तेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेकपाबाट वडाध्यक्षका उम्मेदवार भक्तराज हमाललगायतले बोलेका थिए। रासस
Facebook Comment