ब्लुमबर्गद्वारा अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवार बन्ने औपचारिक घोषणा
न्यूयोर्क । अमेरिकी राष्ट्रपतिका लागि उम्मेदवारी दिने क्रममा अर्बपति माइकल ब्लुमबर्गले पनि उम्मेदवारी दिने औपचारिक निर्णय गरेका छन् । न्युयोर्क सिटीका पूर्व मेयरसमेत रहेका ब्लुमबर्ग डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा औपचारिक रुपमा सामेल भएका हुन् ।
उनी अमेरिकी धनाढ्यको सूचिमा आठौँ नम्बरमा पर्छन्। आर्थिक पत्रिका फोक्र्सका अनुसार उनको सम्पती ५४.४ बिलियन अमेरिकी डलर रहेको छ ।
उम्मेवारी घोषणाका लागि जारी वक्तव्यमा ब्लुमबर्गले ‘डोनाल्ड ट्रम्पलाई पराजित गर्न र अमेरिका पुननिर्माणमा लागि’ आफ्नो उम्मेदवारी रहने उल्लेख गरेका छन्।
पचास अर्बभन्दा बढी अमेरिकी डलर का मालिक ७७ वर्षका ब्लुमबर्गले अमेरिकाको पुनःनिर्माण र ट्रम्पको पराजयका लागि निर्वाचनमा जाने निर्णय लिएको बताए। उनको उम्मेदवारी को घोषणा अमेरिकामा पहिलो प्राथमिक मतदानभन्दा तीन महिना पहिले भएको हो ।
उनले भने, “हामीले निर्वाचन कुनै पनि हालतमा जित्नुपर्छ ।” यद्यपि राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिकका तर्फबाट उम्मेदवारी पाउन उनले उक्त दलका डेढ दर्जन नेताहरूलाई जित्नुपर्नेछ ।
तर, उनलाई अहिलेसम्ममा उम्मेदवारीका लागि डेमोक्रेटिकका नेताहरू, पूर्व उपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन र बर्नी सान्डर्स तथा मेयर पिट बुट्जजको चुनौति प्रमुख रहेको देखिन्छ ।
उम्मेदवारीको घोषणा गर्दै ब्लुमबर्गले अमेरिकी राष्ट्रपति (रिपब्लिकन नेता) ट्रम्पलाई हराउन डेमोक्रेटिकबाट आकांक्षी रहेका उम्मेदवारहरू आवश्यकता जत्तिकै बलियो नरहेको बताएका छन् ।
सन् २००१ मा न्युयोर्कको मेयर भएका ब्लुमबर्गले लगातार तीन कार्यकाल (१२ बर्ष) मेयर भएका थिए।(रासस/एएफपी)
Facebook Comment