रुसी विदेशमन्त्री अप्रिलमा आउने पक्का, पुटिनलाई निम्तो

डिसी नेपाल
९ मंसिर २०७६ २२:०७

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीव कुमार ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल र उनका रुसी समकक्षी सर्गेई लाभरोभ नेतृत्वको प्रतिनिधिमण्डलबीच सोमबार रुसको राजधानी मस्कोमा द्विपक्षीय वार्ता भएको छ। वार्ता सौहार्द वातावरणमा भएको थियो।

सो क्रममा दुई विदेशमन्त्रीहरुले द्विपक्षीय सम्बन्धका विभिन्न आयमहरुमा आ आफ्नो धारणा राखे। बैठकमा दुबै मन्त्रीहरुले उच्चस्तरीय भ्रमण आदानप्रदानमा जोड दिएका थिए। उनीहरुले न्यायिक, संसदीय र व्यवसायीबीचको उच्चस्तरीय भ्रमण आदानप्रदानमा जोड दिएका हुन्।
परराष्ट्रमन्त्री ज्ञवालीले सो क्रममा रुसी महासंघका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए। परराष्ट्रमन्त्री ज्ञवालीले रुसी विदेशमन्त्री लाभरोभमाफर्त नेपालका प्रधानमन्त्री केपी ओलीले पठाएको रुसी प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका थिए।

सो अवसरमा रुसी विदेशमन्त्री लाभरोभले १४ वर्षपछि नेपाली विदेशमन्त्रीको औपचारिक भ्रमणले द्विपक्षीय सम्बन्धमा देखिएको कमी पूरा गरेको बताएका थिए। पराष्ट्रमन्त्री ज्ञवालीले नेपालको राजनीतिक परिवर्तनपछि पहिलो पटक रुसको भ्रमण गरेका हुन्।

दुबै मन्त्रीहरुले एकआपसमा सम्बन्ध सुधार गर्ने र नयाँ उँचाईमा सम्बन्ध विस्तारमा सहमत भएको परराष्ट्रमन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ। खास गरी रुस र नेपालबीच लगानी, व्यापार, शिक्षा, ऊर्जा, निर्माण, पर्यटन र सांस्कृतिक तथा जनस्तरमा सम्बन्ध विस्तार गर्नुपर्नेमा दुबै मन्त्रीहरुले जोड दिएका थिए।

रुस र नेपालबीच १९५६ मा कुटनीतिक सम्बन्ध स्थापना भए यता दुबैदेशबीच आर्थिक तथा अन्य सम्बन्ध मजबुत रहेकोमा अझ सम्बन्ध बलियो बनाउने विषयमा चर्चा भएको थियो। दुबै मन्त्रीहरु आर्थिक रुपमा बलियो हुनुपर्नेमा सहमत भएका थिए। सो अवसरमा रुसी विदेशमन्त्री लाभरोभले भिजिट नेपाल २०२० का अवसरमा रुसी नागरिकहरुले नेपालको भ्रमण गर्ने विश्वाससमेत दिलाएका थिए।

दुई मन्त्रीहरुले वैश्वीक एजेण्डाहरुमा पनि आ आफ्नो धारणा साझा गरेका थिए। उनीहरुसँग सँयुक्त राष्ट्रसंघको बडापत्र अनुसार विश्वव्यापी शान्तिका लागि पहल गर्ने विषयमा समेत कुराकानी भएको थियो।

यसैबीच रुसी विदेशमन्त्री लाभरोभ आगामी अप्रिलमा हुने सगरमाथा सम्बादमा सहभागी हुन काठमाडौं आउने भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *