कार्बनडाइअक्साइड तथा हरित गृहको प्रभाव हालसम्मकै उच्च
बीबीसी। सन् २०१८ मा पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै सर्वोच्च भएको छ।
विश्व जलवायु सङ्गठनका अनुसार त्यो वृद्धि गत दशकको औसत स्तरभन्दा माथि छ। मिथेन तथा नाइट्रस अक्साइडजस्ता ग्यासको स्तर पनि औसतभन्दा बढी पाइएको छ।
सन् १९९० यता लामो समयदेखि वायुमण्डलमा रहेका हरित गृह ग्यासका कारण उत्पन्न तापमान वृद्धिको असर करिब ४३ प्रतिशतले बढिरहेको छ।
सो सङ्गठनको पछिल्लो प्रतिवेदनले उत्सर्जनभन्दा पनि वायुमण्डलमा त्यस्ता ग्यासका परिमाण अध्ययन गरेको थियो।
यो अध्ययनको हकमा उत्सर्जन र परिमाणबीचको फरक भनेको उत्सर्जनले केवल वायुमण्डलमा फ्याँकिएको ग्यास बताउँछ जुन खासगरी इन्धन प्रयोग गरेर, कोइला बालेर वा वनविनाशका कारण हुने गर्छ।
परिमाणले चाहिँ उत्सर्जित भइसकेको ग्यासमध्ये समुद्र वा वन वा जमिनले सोसेर वायुमण्डलमै बाँकी रहेको स्तर जनाउँछ।
सामान्यतया उत्सर्जित कार्बनमध्ये करिब एक चौथाइ समुद्रले सोस्छ भने त्यतिकै जति जमिन तथा जङ्गलले सोस्छन्।
विद्यमान प्रवृत्तिका कारण जलवायु परिवर्तनको अत्यन्त खराब असर झन् झन् उजागर हुन थालेको उसले जनाएको छ।
राष्ट्रसङ्घको उक्त निकायका अनुसार गत वर्ष कार्बन डाइअक्साइडको परिमाण सन् २०१७ को तुलनामा झण्डै एक प्रतिशत बढेको छ।
सङ्गठनका महासचिव पेट्टेरी तालसका अनुसार प्यारिस जलवायु परिवर्तनसम्बन्धी सम्झौता अनुसारका तमाम प्रतिबद्धताका बावजुद हरितगृह ग्यासको उत्सर्जन घट्नुको साटो जारी छ।
उनका अनुसार अहिलेको स्तरमा देखिए जति परिमाणको कार्बन डाइअक्साइड यसअघि शायद ३० देखि ५० लाख वर्ष पहिले मात्र थियो। त्यतिखेर समुद्री सतह अहिलेकोभन्दा २० मिटर माथि पुगेको थियो।
वैज्ञानिकहरूले सबभन्दा धेरै चिन्ता मानेको कुरा चाहिँ वायुमण्डलमा बढ्दो हरित गृह ग्यासको परिमाणले विश्वव्यापी तापमान वृद्धिमा पुर्याइरहेको योगदान हो। यस्तो असर सन् १९९० को तुलनामा ४३ प्रतिशतले बढेको पाइएको छ।
Facebook Comment