कविता – “फुली” – नवराज योन्जन, अमेरिका
फुली
तिमीलाई थाहा हुनुपर्छ |
ए ! ठुली
तिम्रो श्रीमान् आर्थिक लडाईमा छ |
बच्चाउनलाई तिम्रो त्यो नाकको फुली |
विदेशी गल्लि गल्लीमा
बनेको छ कुल्ली
वैसालु शरीरलाई पगाली
पसिनाका कयौ थोप्पा थोप्पाहरु निकाली
त्यहि कयौ थोप्पाहरुको मिलन बाट बनेको
नदिझैँ बग्ने मौनताका यी दिन र रातमा
सन्तानको सुनौली भविष्य खोज्दै
सस्तो मुल्यमा बेचिरहेको छ श्रम
यो मरुभुमिहरुमा डुली
ए ठुली !
बच्चाउनलाइ तिम्रो त्यो नाकको फुली |
हरपल आउँछ तिम्रो याद
भएको छ पहाड झैँ चुली
प्रवेश गर्छौ तिमी साँझ परेपछी
तिम्रो सुन्दर आकृति बोकी
लाग्छ त्यो जुनझैँ !
कोइली झैँ विरहको गीत गाउँदै
मुस्कुराउछौ गुलाफी ओठमा
लाग्छ !
त्यो सुन्दर फुलझैँ फुली
म ठिक त्यसै समय
म कल्पनामा डुब्दै
बनेको हुन्छु पुतली
रमाउँदै चुम्मेको हुन्छु
तिम्रो त्यो प्रत्येक सुन्दरताको
कोमल भागमा डुली |
यसरि बित्छन रातहरु
सपनामा खुल्दै भुली
दिनहरु बित्दैछन
बनेर प्रवासमा कुल्ली
खोज्दै सन्तानका सुन्दर दिनहरु
र बच्चाउन तिम्रो त्यो नाकको फुंली
अब ए ठुली
क्षणिक सन्तुष्टि भुली
कर्तब्य र जिम्मेवारलाई
तिमीले बुझ्नु पर्छ |
जिन्दगी कर्म हो र त्याग पनि
जिन्दगी दिनु हो त लिनु पनि
जिन्दगी प्राप्ति हो त गुमाइ पनि
जिन्दगी आनन्द हो र दुखाई पनि
जिन्दगी हाँसो हो र रोदन पनि
जिन्दगी सम्मान हो त अपमान पनि
जिन्दगी जन्म हो त मृत्यु पनि
जिन्दगी शुरुवात हो त अन्त पनि
जसरि ,दिन र रात मिलि सृष्टि बनेको छ ।
Facebook Comment