‘प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ, बैठकको अध्यक्षता पनि गर्छु’

डिसी नेपाल
१० मंसिर २०७६ ८:३४

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीको कार्यकारी अध्यक्ष नै रहेको र बैठकको अध्यक्षता आफूले पनि गर्ने बताएका छन् । उनले पार्टीमा कार्यकारी अधिकार प्रचण्डलाई दिइएको भए पनि प्रचण्डभन्दा आफू सिनियर रहेको बताएका हुन् । उनले पार्टी अध्यक्ष भनेको सधैं कार्यकारी नै हुने भन्दै कहिले आफू र कहिले प्रचण्डले बैठकको अध्यक्षता गर्ने पनि बताएका छन् । पार्टीभित्र आफू प्रथम अध्यक्ष र प्रचण्ड द्वितीय अध्यक्ष भएको उनको भनाइ थियो ।

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम ‘फायर साइड’ लाई दिएको अन्तरवार्तामा प्रधानमन्त्री ओलीले देशलाई स्थायित्व दिनका लागि आफू र प्रचण्डले मिलेर पार्टी प्रचण्डले हेर्ने र आफूले सरकार हेर्ने सहमति गरेको बताएका छन् । प्रधानमन्त्री ओलीले पार्टी एकीकरणका बेला आलोपालो प्रधानमन्त्री हुने सहमति भएको स्वीकार गरेका छन् । यसअघि उनले यस्तो सहमति नभएको दावी गर्ने गरेका थिए । यही सहमतिका आधारमा आफू प्रचण्डलाई सरकार छाड्न तयार भएको समेत उनले बताए ।

‘पार्टी एकीकरणको उत्कट अभिलाषाका कारण मैले सरकारको नेतृत्व आधा आधा गर्ने कुरामा सहमति जनाएँ, सही गरेर दिएँ’ उनले भनेका छन् ‘सोही अनुसार म प्रचण्डजीलाई सरकार छाड्न पनि तयार भएको थिएँ ।’ तर, पछि आफू र प्रचण्ड दुवैले यसरी बीचमै प्रधानमन्त्री फेर्दा लामो समयपछि देशमा आएको स्थायित्व खल्बलिने महसुस गरेर आफूले सरकारको नेतृत्व गर्ने, सरकारमै केन्द्रित हुने तथा प्रचण्ड पार्टीमा केन्द्रित हुने गरी सहमति गरेको बताए ।

आफू सरकारमा केन्द्रित हुने र प्रचण्ड पार्टीमा केन्द्रित हुने भनिए पनि दुवै अध्यक्षले काम गर्दा एक अर्काको सल्लाह लिने सहमति भएको उनले खुलासा गरे । ‘सरकारको काम पनि मैले सल्लाह नै गरेर गर्छु । पार्टीको काम पनि प्रचण्डजीले मसँग सल्लाह गरेर गर्नुहुन्छ’ उनले भने । उनले पार्टीमा दुवै अध्यक्ष कार्यकारी नै भएको बताए । ‘अध्यक्षता नगर्दा कार्यकारी होइन भन्ने हुँदैन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *