महाराष्ट्रमा शिवसेना नेता उद्धव ठाकरे मुख्यमन्त्री बन्ने, आफुले खनेको खाडलमा आफै डुब्यो भाजपा
नयाँ दिल्ली (एजेन्सी) । भारतको महाराष्ट्रमा शिवसेना नेता उद्धव ठाकरे मुख्यमन्त्री बन्ने भएका छन। उनले आगामी डिसेम्बर १ मा मुख्यमन्त्रीको शपथ लिने भारतीय सञ्चार माध्यमले जनाएका छन्।
भाजपा नेता तथा मुख्यमन्त्री देवेन्द्र फडणवीसले मंगलबार पदबाट राजीनामा दिएसँगै काँग्रेस आई, राष्ट्रवादी काँग्रेस (एनसीपी) र शिवसेनाको महागठबन्धनले सरकार बनाउने तयारी तिब्र पारेको हो।
गठबन्धनका नेताहरुले मंगलबार नै राज्यपाल भगत सिंह कोश्यारीलाई भेटिसकेका छन्। यो गठबन्धनले सोमबारै बहुमत आफुसँग रहेको भन्दै राज्यपालको कार्यालयमा सरकार बनाउने दावी पेस गरिसकेको थियो। तर, त्यो बेला राज्यपाल कोश्यारी भने कार्यालयमा थिएनन्। कोश्यारी भाजपाका नेता हुन्। त्यसैले पनि उनी गहै्र भाजपा सरकार बनोस भन्ने चाहानामा थिएनन्। तर, उनले रातारात शपथ खुवाएका भाजपा नेता फडणवीसले ४ दिनमै पदबाट राजीनामा दिनुपरेपछि गैह्र भाजपाको सरकार बन्ने भएको हो।
गएको शनिबार महाराष्ट्रको राजनीतिमा नाटकीय घटनाक्रम विकास भएका थिए। शुक्रबार रातभरको भाजपाको क्रियाशीलताले शनिबार बिहानै फडणवीसले मुख्यमन्त्रीको शपथ लिए। तर, शुक्रबार बेलुकासम्म शिवसेनाका उद्धव ठाकरे मुख्यमन्त्रीको शपथ लिने तयारीमा थिए।
एनसीपी र काँग्रेसआईको सहयोगमा शिवसेनाले सरकार बनाउने अन्तिम तयारी गर्दा एनसीपीकै एक नेताअजित पवारलाई उपमुख्यमन्त्री बनाएर फडणवीसले मुख्यमन्त्रीको शपथ लिएपछि महाराष्ट्रको राजनीतिमा भूकम्प आएको थियो।
त्यसपछि दलहरु आ आफ्ना विधायकको सुरक्षामा खटिएका थिए। दलहरुले विधायक किनबेच हुन सक्ने भन्दै होटलमा राखेका थिए। यहीबीचमा मंगलबार सर्वोच्च अदालतले विपक्षीहरुले हालेको रिटमा सुनुवाई गर्दै फडणवीसलाई बुधबार बहुमत परीक्षण गर्न आदेश दिएपछि उनले ४ दिनमै राजीनामा दिनु परेको हो।
विगत ४ दिनको राजनीतिमा मंगलबारको सर्वोच्चको आदेशले नयाँ तथा निर्णायक मोड ल्याइदिएको हो। भाजपा संसदमा बुहमत परीक्षणको मिति सार्न चाहन्थ्यो। तर, सर्वोच्चको आदेशले उसको त्यो योजना भताभुंग बनाइदिएपछि भाजपा आफुले खनेको खाडलमा आफै परेको हो।
Facebook Comment