पर्यटन व्यवसायी सन्तोष उप्रेतीलाई ५ प्रश्न
काठमाडौं । सरकारले गर्न लागेको नेपाल पर्यटन भ्रमण वर्ष २०२० सुरु हुन ३४ दिन बाँकी छ । यो १ वर्षभित्र सरकारले २० लाख विदेशी पर्यटक नेपालमा भित्र्याउने तयारीको अन्तिम चरणमा पुगेको छ । विदेशीहरुलाई नेपाल भ्रमण गर्न धेरै देशमा पर्यटन मन्त्रीले निम्तासहित पठाइसकेका छन् ।
पर्यटन सम्बन्धि काम गर्ने सरकारी, गैर सरकारी र निजी क्षेत्रबाट पनि भ्रमण वर्ष सफल पार्न सबै निकाय तयारीमा जुटेका छन् । त्यसै सन्दर्भमा होटल तथा पर्यटन व्यवसायीले भ्रमण वर्ष सफल पार्न के योजना बनाइरहेको छ, कसरी अगाडि बढीरहेको छ भन्ने विषयमा होटल तथा पर्यटन व्यवसायी संघ प्रदेश नं ३ का अध्यक्ष सन्तोष उप्रेतीसँग हामीले छोटो संबाद गरेका छौं । प्रस्तुत छ उप्रेतीसँग गरिएको संबादको सम्पादित अंश
१. नेपाल पर्यटन भ्रमण वर्षको तयारी कसरी गरिरहनु भएको छ ?
–नेपाल भ्रमण वर्ष सफल पारौं भनेर हामी व्यवसायीहरु आ–आफ्नो तर्फबाट लागि रहेका छौं । साथै भ्रमण वर्ष सफल पार्नका लागि संस्थागत रुपमा एउटा कमिटी गठन गरेका छौं । होटल तथा पर्यटन व्यवसायी संघका महासचिव दामोदर नेपाल संयोजक रहने गरी ३ सदस्यीय कमिटी बनाएका छौं।
जसमा २ जना कृष्ण श्रेष्ठ र सिद्धीबहादुर शाहीलाई सदस्य बनाएका छौं । यो कमिटीले प्रदेश नं ३ भित्रका १३ जिल्लाहरुमा सेमिनार गोष्ठीहरु गर्ने, १३ जिल्लाकै पर्यटकीय क्षेत्र उजागर गर्न प्रचार प्रसार गर्ने, सरकारी निकायसँग समन्वय गरेर सबै पर्यटकीय क्षेत्रको विकासमा सबै तहसँग सहकार्य पर्यटकीय क्षेत्रलाई चिनाउने छौं ।
२. सरकारी निकायसँग समन्वय/सहकार्य कस्तो छ ?
विशेष गरी हामी ३ नं प्रदेशले राज्यका निकायहरु नेपाल भ्रमण वर्ष सचिवालय, पर्यटन बाेर्ड, पर्यटन विभागलगायतका निकायहरुसँग समन्वय गरेर अगाडि बढ्ने सोचेका छौं । सरकारी निकाय अन्यौलमा देखिएका छन् । भ्रमण वर्षका राष्ट्रिय संयोजक नै परिवर्तन हुने भन्ने कुरा आएको छ ।
यो अन्यौलताका बीचमा पनि हामीले आफ्नो क्षेत्रबाट धेरै प्रयास गरिरहेका छौं । हामीले ३ नं प्रदेशका सबै जिल्लाका पर्यटकीय क्षेत्रको विकास गर्न सबै निकायमा प्रस्तवना पत्र दिएका छौं । तर, ती निकायबाट उचित निर्णय आएको छैन । तैपनी हाम्रो कमिटीले भ्रमण वर्षलाई सफल पार्न विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।
३. स्थानीय तथा प्रदेश तहमा के गरिरहनु भएको छ ? कस्तो सहयोग पाइरहनु भएको छ ?
सरकारले नै प्रत्येक जिल्लामा जिल्ला समन्वय समितिको प्रमुख संयोजक रहने गरी कमिटी गठन गर्ने भनेर पत्राचार भैसकेको छ । हामीले पनि जिल्लामा रहेका होटल तथा पर्यटन व्यवसायी संघ जिल्ला अध्यक्षलाई सह-संयोजक राख्न अनुरोध गरिरहेका छौं ।
त्यो भएपछि हाम्रो प्रदेशमा भएका जिल्लामा भएका सम्पूर्ण ऐतिहासिक, धार्मिकलगायत पर्यटकीय सम्भावना बोकेका क्षेत्रलाई पहिचान गरेर जिल्ला समन्वय समिति मार्फत प्रदेशमा त्यसको डाटा संकलन गर्दैछौं । त्यो संकलन गरेको १३ वटा जिल्लाका पर्यटकीय क्षेत्रमध्ये सुरुमा जिल्लाका मुख्यमुख्य १/१ वटा क्षेत्रलाई प्रवद्र्धन गर्ने भनेर पत्राचार गरिसकेका छौं । त्यसलाई समन्वय गर्न ३ नं प्रदेशका पर्यटनमन्त्री अरुण नेपाललाई प्रस्तावना पेश गरिसकेका छौं ।
उहाँहरुले पनि यसको अध्ययन गरेर जानकारी गर्छौं भन्नुभएको छ । हामी राज्यका सम्पूर्ण तहसँग समन्वय गर्न तयार छौं तर हामीले सरकारसँग जुन अपेक्षा गरेका थियौं त्यो भइरहेको छैन । अर्को कुरा ३ नं प्रदेश भित्र धेरै पर्यटनसँग सम्बन्धित महासंघ संस्थाहरु छन्, तर हामी चाँही ३० हजार व्यवसायीको प्रतिनिधित्व गर्छौं । १३ वटा जिल्ला र काठमाडौंका १२ वटा इकाइहरु भित्र ३० हजार व्यवसायीहरुको संगठनलाई राज्यले उचित स्थान नदिएको अवस्था छ ।
४. प्रदेश ३ भित्र लाखौं पर्यटक भित्र्याउने योजना बनाउनु भएको छ नी के कसरी भित्र्याउनु हुन्छ पर्यटक ?
विशेष त राज्यले नीति कानुन बनाउनु भएको छ । त्यो असाध्यै राम्रा छन् । तर सरकारका पछिल्ला कदमप्रति भने त्यति सफल नै होला भन्नेमा ढुक्क छैनौं । त्यो भनिरहँदा पनि ३ नं प्रदेश होटल तथा पर्यटन व्यवसायी संघ भने नेपाल भ्रमण वर्ष सफल बनाउन सरकारका निश्चित निकायले हामीसँग सहकार्य नगरे पनि हामी व्यवसायी हौं । हाम्रो क्षेत्र, हाम्रो ठाउँ चिनाउनका लागि पनि हामी तयारीमा छौं ।
५. भ्रमण वर्षलाई लक्षित गरेर होटल व्यवसायीहरु के त्यस्तो अफर तथा सहुलियतको व्यवस्था गरेको छ ?
हामी भ्रमण वर्षमा सुरुवातीमा प्रवेश गर्दैछौं । हाम्रो होटल तथा पर्यटन व्यवसायी संघको महाधिवेशन पनि ४ र ५ गते पुसमा सुर्खेतमा हुन गइरहेको छ । त्यसै महाधिवेशनमा ७ वटै प्रदेश ७७ वटै जिल्लामा भ्रमण वर्ष २०२०मा हामीले कुन कुन ठाउँमा कसरी सहुलियत तथा छुटका कार्यक्रमहरु गर्न सक्छौं, होटल केन्द्रित भएका पर्यटन व्यसायीहरु, जीपलाईन, हाइकिङलगायतका व्यवसायीहरु हामीसँग जोडिनु भएको छ । उहाँहरु सबै मिलेर हामीले के कस्तो छुटको व्यवस्था गर्न सक्छौं भन्ने कुरा त्यसपछि सार्वजनिक गर्नेछौं ।
प्रस्तुति : भूमिराज पिठातोली
Facebook Comment