माडी प्रदेश सरकारको प्राथमिकतामा : मन्त्री नेपाल

डिसी नेपाल
११ मंसिर २०७६ ९:१५

भरतपुर । प्रदेश ३ का पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले माडीको विकासलाई प्रदेश सरकारले प्रथामिकतामा राखेको बताएका छन् ।

माडीको सोमेश्वरगढीमा भएको राष्ट्रिय प्रस्तर मूर्ति कार्यशालाको समापन गर्दै उनले यहाँको पर्यटन प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने उल्लेख गरे ।

स्थानीय तह र प्रदेश सरकारको पहलबाट माडीको पर्यटन विकासका लागि काम गर्ने मन्त्री नेपालले बताए।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न माडी सोमेश्वरगढी कोशेढुङ्गा सावित हुने उहाँको भनाइ थियो ।

मुलुककै १०० पर्यटकीय गन्तव्यमध्येको एक धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सोमेश्वरगढीमा मूर्ति कार्यशालाको सिर्जनाले थप सम्भावना उजागर गरेको उनले उल्लेख गरे ।

निकुञ्जको बाटो हुँदै २४सै घण्टा माडी आवतजावतका लागि पहल थालिएको उनले बताए । “समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रिमण्डलीय तथा स्थानीय जनप्रतिनिधिसँग छलफल भएको छ”, उनले भने ।

कार्यक्रममा माडी नगरपालिका नगरप्रमुख ठाकुरप्रसाद ढकालले सोमेश्वरगढीका ५० भन्दा बढी मूर्ति सीमा सुरक्षामा साक्षी रहने विश्वास व्यक्त गरे ।

सम्भावनाको उर्वरभूमि माडीको सोमेश्वरगढीमा राष्ट्रिय प्रस्तर मूर्ति कार्यशाला सञ्चालनका लागि समन्वय गरेकामा नगरप्रमुख ढकालले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानलाई धन्यवाद दिए ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र माडी नगरपालिकाको आयोजनामा गत कात्तिक २३ गतेदेखि उक्त क्षेत्रमा मूर्ति कार्यशाला आयोजना गरिएको हो।

कार्यशालामा सहभागी चर्चित मूर्तिकारले गढीमा ५० भन्दा बढी परम्परागत, धार्मिक, आधुनिक र समसामयिक मूर्ति कुँदेका थिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *