विश्व बैंकले नेपाललाई दियाे १६ अर्ब ऋण
काठमाडौं । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि १६ अर्ब ३७ करोड १३ लाख ऋण सहयोग गर्ने भएको छ ।
युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि २ अर्ब ७४ करोड १३ लाख सहयोग गर्न लागेको हो ।
अर्थ मन्त्रायलमा बुधबार आयोजित एक कार्यक्रममा अर्थसचिव राजन खनाल र यहाँ स्थित बैँकका देशीय प्रबन्धक फारिस हडाड जेर्भोसले ऋण सहयोग सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
युवा रोजगारी रूपान्तरण प्रयास परियोजनाले ७ सय ५३ वटै स्थानीय तहमा रोजगारी सेवा केन्द्रबाट रोजगारीमा पहुँच वृद्धि गर्नेछ । उक्त परियोजना प्रधानमन्त्री रोजगार कार्यक्रम तथा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्तरूपमा कार्यान्वयन गर्नेछन् ।
उक्त कार्यक्रम मार्फत् मुलुकको भौतिक पूर्वाधार परियोजनामा अस्थायी रोजगारीका अवसर सिर्जना गरिने छ भने युवा तथा महिलालाई ५० दिन रोजगारीको अवसर उपलब्ध गराइने छ ।
त्यस अवसरमा सचिव खनालले नेपालको सामाजिक, आर्थिक र शैक्षिक विकासमा विश्व बैंकले निरन्तर गर्दै आएको सहयोगको सराहना गरे । रासस
Facebook Comment