उपनिर्वाचनबाट दुई तिहाइ सरकारको मूल्याङ्कन हुन्छ : महत

डिसी नेपाल
११ मंसिर २०७६ २०:४७

काठमाडौं । नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले काँग्रेसले नेकपा नेतृत्व दुई तिहाइ सरकारको मूल्याङ्कनका रूपमा उपनिर्वाचनलाई लिएको बताएका छन्।

उपनिर्वाचनको सङ्घारमा बुधबार नेपाली काँग्रेसले आयोजना गरेको अन्तिम चुनावीसभालाई सम्बोधन गर्दै उनले सरकारबाट जनता निराश भएको भन्दै निराश जनताले काँग्रेसलाई फेरि रोज्ने बेला आएको बताए ।

देशको विकासको जिम्मेवारी काँग्रेसले मात्रै पूरा गर्न सक्ने भन्दै उनले उपनिर्वाचनको नतिजा काँग्रेसको पोल्टामा ल्याएर विजय सुनिश्चित गर्न मतदातालाई आग्रह गरे।

कार्यक्रममा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले जनताले नेकपाप्रति विश्वास गुमाइसकेको जिकिर गर्दै काँग्रेस एक ढिक्का भएर अगाडि बढे काँग्रेसको जित सुनिश्चित रहेको बताए। काँग्रेसलाई निष्पक्ष उपनिर्वाचन सम्पन्न गर्ने कार्यमा लाग्न पनि आग्रह गरे।

त्यस अवसरमा राप्रपा संयुक्तका केन्द्रीय सदस्यद्वय दिनेश श्रेष्ठ, रविन्द्रप्रताप शाहले राप्रपाको सबै मत काँग्रेसलाई दिने भएकाले यसपटकको उपनिर्वाचनमा काँग्रेसले निर्धक्कसँग जित सुनिश्चित गर्ने बताएका छन्। विकासमा दुवै दलसँगै लाग्ने पनि उनले बताए ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, काँग्रेस जिल्ला सभापति दुर्लभ थापा, क्षेत्रीय सभापति जीवन खत्री, उम्मेदवार कृष्णलाल भँडेललगायतले अरुले दिएको लोभ प्रलोभन र विकासे नारालाई विश्वास नगरी काँग्रेसको विकासको लक्ष्यलाई विश्वास गर्दै मतदान गर्न आग्रह गरे। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *