नेपाल टेलिकम र प्रहरीबीच सम्झौता

डिसी नेपाल
१२ मंसिर २०७६ ६:५२

काठमडौँ । नेपाल प्रहरीको फुटबल क्षेत्रको विकासका लागि नेपाल टेलिकमले सहयोग गर्ने भएको छ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा नेपाल पुलिस क्लबको महिला तथा पुरुष फुटबल खेलाडीलाई प्रायोजन गर्न नेपाल टेलिकमले रु ३२ लाख बराबरको सामग्री सहयोग गर्ने सम्झौता भएको हो।

सम्झौतापत्रमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीबीच हस्ताक्षर भएको छ।

सम्झौतासँगै टेलिकमको प्रतीक चिह्न अङ्कित पोशाक लगाएर खेलाडीहरुले खेल खेल्नेछन् । सम्झौता एक वर्षका लागि गरिएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सम्झौताले लोकप्रिय खेल फुटबललाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने बताए ।

“उच्च नैतिकता, अनुशासन, मर्यादा र खेलप्रतिको समर्र्पणमा लागेमात्र सम्झौताको सार्थकता हुन्छ,” उनले भने । राष्ट्रियतालाई चिनाउन फुटबल खेलले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

महानिरीक्षक खनालले आउँदै गरेको साग प्रतियोगितामा फुटबलमा पहिलो स्थान हासिल गरेर आफ्नो कौशल देखाउन पुलिसका खेलाडीलाई आग्रहसमेत गरे । सागको सुरक्षामा नेपाल प्रहरी कटिबद्ध रहेको उनको भनाइ छ।

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले नेपाल प्रहरीका खेलाडीहरुलाई खेलप्रति थप जिम्मेवार बन्न र दूरसञ्चार कम्पनीको सेवालाई थप विकास गर्न सम्झौताले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“कल बाइपासदेखि टेलिकमका तार चोरीलाई नियन्त्रण गर्न प्रहरीले टेलिकमलाई सहयोग गरेको छ,” उनले भने । सम्झौतासँगै प्रहरीका फुटबल खेलाडीले व्यावसायिकतासँगै खेललाई सँगै लैजान सहयोग पुग्ने उनको भनाइ थियो।

प्रहरी र नेपाल टेलिकमबीच विसं २०६८ सालदेखि फुटबलमा सम्झौता हुँदै आएको छ। शुरुका दिनमा पुरुष फुटबल खेलाडीका लागि मात्र प्रायोजन गर्दै आएको टेलिकमले विसं २०६९ सालदेखि महिला खेलाडीलाई समेत सहयोग गर्दै आएको छ।

शुरुका दिनमा वार्षिक रु १६ लाख उपलब्ध गराउँदै आएको टेलिकमले अहिले वार्षिक रु ३२ लाख उपलब्ध गराउने गरी सम्झौता गरेको हो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *