च्याम्पियन्स लिगः ७ टिम अन्तिम १६ मा ८ टिम बाहिरिए, ९ स्थानका लागि १७ टिम दौडमा
काठमाडौं। युरोपको सबैभन्दा ठूलो फुटबल लिग युइएफए च्याम्पियन्स लिगमा सबै टिमले समूह चरणका अन्तिम खेल खेल्न बाँकी रहँदा ७ टिम अन्तिम एक खेल नखेल्दै अन्तिम १६ मा पुग्ने निश्चित भइसकेको छ । ८ टिमले अन्तिम खेल जिते पनि बाहिरिने निश्चित भएको छ । अब अन्तिम १६ मा ९ स्थान बाँकी छन् र यो ९ स्थानको लागि १७ वटा टिम प्रतिस्पर्धामा छन् ।
समूह ‘ए’ बाट पिएसजी र रियल मड्रिड अन्तिम १६ मा पुग्ने निश्चित भएको छ । शीर्षमा रहेको पिएसजीको १३ अंक छ र दोस्रो स्थानको रियल बड्रिडको ८ अंक छ । तेस्रो स्थानको क्लव ब्रुगेको मात्रै ३ अंक र चौथो स्थानको गालाटासारेको २ अंक भएकोले यी दुईले अन्तिम खेल जितेमा पनि मात्रै ३ अंक पाउने हुँदा रियल बड्रिड हारेको अवस्थामा पनि उसलाई भेट्टाउने सम्भावना छैन । यो समूहका अन्तिम खेलमा आगामी बिहीबार बिहान नेपाली समयअनुसार पौने २ बजे क्लव ब्रुग्गे र रियल मड्रिड तथा गालाटासारे र पिएसजी खेल्दैछन् ।
समूह ‘बी’मा पनि अन्तिम १६ मा जाने टिमको टुंगो लागिसकेको छ । ५ खेलमा सबै खेल जितेर १५ अंकसहित शीर्षमा रहेको बायर्न म्युनिख र १० अंकसहित दोस्रो स्थानमा रहेको टोटनह्याम हटस्पर्स अन्तिम १६ मा जाने निश्चित भएको छ । ३ अंक भएको क्रभेना भेज्दा र १ अंक भएको ओलम्पियाकोसले अन्तिम खेल जितेर पनि यी दुईलाई भेट्टाउने सम्भावना छैन । यो समूहमा अन्तिम खेलमा आगामी बिहीबार बिहान नेपाली समयअनुसार पौने २ बजे क्राभेना भेज्दा र ओलम्पियाकोस तथा बायर्न म्युनिख र टोटनह्याम भिड्दैछन् ।
समूह ‘सी’मा म्यान्चेस्टर सिटी अन्तिम १६ मा पुग्ने निश्चित भएको छ । सिटीको ११ अंक छ । यो समूहमा अन्तिम १६ मा पुग्ने अर्को टिमको टुंगो लागेको छैन र बाँकी तीनवटै टिमको अन्तिम १६ पुग्ने सम्भावना जीवितै छ । शख्तर डोनेस्क ६ अंकसहित दोस्रो, डिनामो जाग्रेब ५ अंकसहित तेस्रो र एटलान्टा ४ अंकसहित तेस्रो स्थानमा छन् ।
समूह ‘सी’को अर्को खेलमा आगामी बुधबार राती पौने १२ बजे शख्तर र एटलान्टा तथा म्यान्चेस्टर सिटी र जाग्रेब भिड्दैछन् । यो खेलमा जीत हात पार्दै बाँकी ३ मध्ये जुनसुकै टिम पनि अन्तिम १६ मा पुग्न सक्छन् । तर, जितपछि पनि अन्तिम १६ मा पुग्नको एटलान्टालाई भने सिटीले जाग्रेबलाई हराइदिनुपर्छ । जाग्रेबले जितेमा भने आफ्नो खेल जितेर पनि एटलान्टा अन्तिम १६ पुग्न सक्ने छैन । उता जाग्रेबलाई पनि अन्तिम १६ मा पुग्नका लागि जितका बाबजुद अर्को खेलमा शख्तरले जित्नु हुँदैन । शख्तरले हारेको अवस्थामा मात्र जाग्रेब जितेर अन्तिम १६ पुग्न सक्छ ।
समूह ‘डी’बाट १३ अंकसहित शीर्ष स्थानमा रहेको युभेन्टस अन्तिम १६ मा छनोट भइसकेको छ । यो समूहको अन्तिम १६ मा पुग्ने दोस्रो टिम टुंगो लागेको छैन । ७ अंकसहित दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड र ६ अंकसहित तेस्रो स्थानमा रहेको बायर प्रतिस्पर्धामा छन् । ३ अंक भएको लोकोमोटिभ मस्को भने बाहिरिइसकेको छ ।
आगामी बिहीबार बिहान युभेन्टस र बायर तथा एथ्लेटिको र मस्कोबीच खेल हुँदैछ । यो खेलमा एथ्लेटिकोले जितेमा ऊ सिधै अन्तिम १६ पुग्नेछ । एथ्लेटिको बराबरी भएको वा हारेको अवस्थामा बायरले युभेन्टसलाई जित्न सके अन्तिम १६ मा पुग्न सक्छ । दुवै खेल बराबरी भएको अवस्थामा भने एथ्लेटिको अन्तिम १६ पुग्नेछ ।
समूह ‘इ’ बाट १ अंकसहित अन्तिममा रहेको स्पोर्टिङ गेंक बाहिरिएको छ तर अन्तिम १६ मा पुग्ने कुनै पनि टिम टुंगो लागेको छैन । शीर्षका रहेको लिभरपुलको १० अंक छ । दोस्रो स्थानको नापोलीको ९ र तेस्रो स्थानको रेडबुल साल्सबर्गको ७ अंक छ । आगामी मंगलबार राती लिभरपुल र साल्सबर्ग तथा नापोली र गेंकबीच खेल हुँदैछ । यो खेलमा लिभरपुलले हारेर नापोलीले जितेमा शीर्ष स्थानको लिभरपुल नै बाहिरिनेछ । यद्यपि लिभरपुलले हार टारेर बराबरी मात्रै खेल्न सकेमा भने अन्तिम १६ मा पुग्नेछ । अर्को खेलमा जेसुकै भए पनि नापोली आफ्नो खेल जितेर अन्तिम १६ मा पुग्न सक्छ ।
समूह ‘एफ’ मा ११ अंकसहित शीर्षमा रहेको बार्सिलोना अन्तिम १६ मा पुगिसकेको छ भने ४ अंकसहित अन्तिममा रहेको स्लाभिया प्राहा बाहिरिइसकेको छ । समान ७ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका इन्टर मिलान र बोरुसिया डर्टमण्ड अन्तिम १६ पुग्ने प्रतिस्पर्धामा छन् । यो समूहको अन्तिम खेलमा बार्सिलोना र इण्टर मिलान तथा डर्टमण्ड र स्लाभिया प्राहा भिड्दैछन् । इण्टर र डर्टमण्डमध्ये कुनै एउटाले जित्ने र अर्कोले हार्ने वा बराबरी भएमा जित्ने टिम अन्तिम १६ मा पुग्नेछ । दुवैले जित्ने वा दुवैले हार्ने भएमा भने गोल अन्तर निर्णायक हुनेछ । दुवै खेल बराबरी भएमा भने गोल अन्तरका आधारमा इण्टर मिलान अन्तिम १६ मा जानेछ ।
समूह ‘जी’मा भने कुनै पनि टिम अन्तिम १६ मा पुगेको निश्चित भएको छेन र कुनै पनि टिम बाहिरिएको पनि छैन । १० अंकसहित आरबी लेपजिग शीर्ष स्थानमा छ । समान ७ अंक भएका जेनिट र लियोन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । ४ अंक भएको बेन्फिका अन्तिममा छ । यो समूहमा लियोन र लेपजेग तथा बेन्फिका र जेनिटको खेल बाँकी छ ।
लेपजेग लियोनसँग बराबरी मात्रै खेले पनि अन्तिम १६ पुग्न सक्छ तर हार्नु पर्ने हुँदैन । लियोनले जेनिटले नजितेको अवस्थामा आफ्नो खेल जितेरै अन्तिम १६ पुग्न सक्छ । जेनिटले पनि जितेको अवस्थामा भने गोल अन्तरका आधारमा फैसला हुनेछ । लियोनले हारेको अवस्थामा आफ्नो खेल जितेर अन्तिम १६ मा पुग्ने बेन्फिकालाई पनि अवसर त छ तर बेन्फिकाले भने जेनिटलाई कम्तीमा पनि ६ गोलको अन्तरले हराउनुपर्नेछ ।
समूह ‘एच’बाट लिले बाहिरिइसकेको छ तर अन्तिम १६ पुग्ने टिम टुंगो लागेको छैन । अन्तिम खेलपछि अयाक्स, चेल्सी र भ्यालेन्सियामध्ये कुनै दुई टिम अन्तिम १६ मा पुग्नेछन् । १० अंक भएको अयाक्स शीर्षमा छ । समान ८ अंक भएका चेल्सी र भ्यालेन्सिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यो समूहमा चेल्सी र लिले तथा अयाक्स र भ्यालेन्सियाबीच खेल हुँदैछ । अयाक्सले भ्यालेन्सियासँग बराबरी मात्र खेल्न सके अन्तिम १६ मा पुग्न सक्छ । तर, अयाक्स हार्दा चेल्सीले जितेमा भने शीर्ष स्थानको अयाक्स नै बाहिरिनेछ ।
Facebook Comment