६ दिनमा दोस्रो सरकार, उद्धव ठाकरे बने महाराष्ट्रको मुख्यमन्त्री

डिसी नेपाल
१२ मंसिर २०७६ १९:५१

नयाँ दिल्ली (एजेन्सी) । भारतको महाराष्ट्रमा गएका पाँच दिनमा दुई सरकार बनेका छन्। गएको शनिबार भाजपा नेता देवेन्द्र फडणवीसले महाराष्ट्रमा सरकार बनाएका थिए। बिहीबार शिवसेना नेता उद्धव ठाकरेले सरकार बनाएका छन्।

गएको मंगलबार भाजपा नेता फडणवीसले बहुमत पाउने नदेखिएपछि सरकार बनाएको चौथो दिनमै राजीनामा दिएका थिए। नाटकीय रुपमा फडणवीसले सरकार बनाए तर, उनको पतन भयो। त्यसपछि काँग्रेस आई र एनसीपीको सहयोगमा शिवसेना नेतृत्वमा बिहीबार गठबन्धन सरकार बनेको हो।

शिवसेना नेता ठाकरेले बिहीबार मुम्बईको शिवाजी पार्कमा मुख्यमन्त्रीको शपथ लिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। यस्तै अन्य ६ जनालेमन्त्रीको शपथ लिएका छन्। काँग्रेसबाट २, एनसीपीबाट २ र शिवसेनाबाट २ जना मन्त्रीले शपथ लिएका छन्।

गठबन्धनको सहमति अनुसार एनसीपीले उपमुख्यमन्त्री पाउने छ भने काँग्रेसले सभामुख लिने जनाइएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार महाराष्ट्रमा ४३ सदस्यीय मन्त्रिमण्डल बन्ने छ। जसमा काँग्रेसबाट १२, एनसीपीबाट १५ र शिवसेनाबाट १६ जना हुने बताइएको छ । यस्तै महाराष्ट्रका पूर्व मुख्यमन्त्री काँग्रेस नेता पृथ्र्वीराज चौहाण सभामुख बन्ने चर्चा छ।

२८८ सिट रहेको महाराष्ट्रमा शिवसेना ५६ विधायकसहित दोस्रो स्थानमा छ। १०५ विधायक रहेको भाजपाले बहुमत पुर्याउन सकेन। तेस्रो ठूलो दल एनसीपीका ५४ विधायक छन् भने काँग्रेस आईका ४४ विधायक छन्।

यसअघि महाराष्ट्रमा शिवसेनाको सहयोगमा भाजपाले सरकार बनाएको थियो। तर, उसले यो पटक पनि सरकार बनायो। तर, बहुमत सावित गर्न नसकिने देखेपछि४ दिनमै सत्ता छोड्न बाध्य भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *