राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको अवस्था बुझ्न मनमोहन सेन्टरमा
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिन ओली भर्ना रहेको महाराजगञ्जस्थित मनमोहन सेन्टर पुगेकी छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएको बताए। उनका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार भएको जानकारीपछि राष्ट्रपति भण्डारीले सन्तोश व्यक्त गरेकी छन्। साथै भण्डारीले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेकी छन्।
प्रधानमन्त्री ओलीको गएको मंगलबार एपेन्डाइटिसको शल्य क्रिया गरिएको थियो। उनको शल्य क्रिया सफल भएको चिकित्सकहरुले बताएका छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको चिकित्सकहरुको भनाई छ।
स्वास्थ्यमा सुधार आए पनि प्रधानमन्त्री ओली केही दिन अस्पतालमै रहने जनाइएको छ। उनी कहिले डिसचार्ज हुन्छन् भन्नेबारे केही खुलाइएको छैन।
मिर्गौलाले काम गर्न छाडेपछि नियमित डायलसिस गराइरहेका प्रधानमन्त्री ओलीमा एपेन्डाइटिस देखिएको थियो।
Facebook Comment