कञ्चनपुरमा मोटरसाइकललाई उछिनेको भन्दै सडकमै कुटपिट, बाटैमा ज्यान गयो
महेन्द्रनगर। कञ्चनपुरमा एक युवकलाई मोटरसाइकललाई उछिनेको निहुँमा ४ जना युवाले निर्घात कुटपिट गर्दा ज्यान गएको छ । महाकाली नगरपालिका–३ का २२ वर्षीय दीपक पन्तलाई निर्घात कुटपिट गरिएकोमा उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । महेन्द्रनगरबाट दोधारा चाँदनी जाने क्रममा मोटरसाइकल ‘ओभरटेक’ गरेको भन्दै भीमदत्त नगरपालिका–१८ मा चार जनाको समूहले पन्तमाथि चक्कु र हेलमेट प्रहार गरी हत्या गरेका हुन् ।
पन्तको हत्याको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारलाई पक्राउ गरेको छ । पन्तमाथि कुटपिट गर्ने चार जनासहित एउटा मोटरसाइकल र एउटा स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिहीबार घरबाट बुवा विशन पन्तलाई मोटरसाइकलमा राखेर महेन्द्रनगर बजार आएका दिपकलाई घर फर्किने क्रममा मोटरसाइकल रोकेर चार जनाको समूहले कुटपिट गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका पन्तको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारत लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।
Facebook Comment