क्यामेरासँग खेल्नेको कथाः फिल्मी क्षेत्रमा भाँडा माझेर करिअर सुरु गरेका हरिको निर्देशकसम्मको यात्रा
काठमाडौं। ‘पढेर के नै हुन्छ र? पैसा कमाउन त काम गर्नुपर्छ’– बाल्यकालमा हरि हुमागाई सोच्थे। पढाइमा फिटिक्कै मन नजाने। त्यसैले त कक्षा ६ मा पढ्दै गर्दा काभ्रेबाट भागेर काठमाडौं आइपुगे। सपना ठूलो थिएन। मात्र – केही काम गर्ने, पैसा कमाउने । मेहनती भने निकै थिए। काम गर्न लजाउँदैनथे।
मेहनतले मानिसलाई सफलतामा पुर्याउँछ नै। आज छायांकारका रुपमा फिल्म, विज्ञापन र म्युजिक भिडियोमा सुपरिचित छन् हरि। गुणात्मकमा ध्यान दिन्छन्। सुनाउँछन्, –‘संख्यात्मक हिसाबले दुई दर्जनजति फिल्म खिचेँ । जसमध्ये हिट फिल्ममा ‘फष्ट लभ’, ‘होस्टेल’, ‘होस्टेल रिटर्न्स’, ‘छ माया छपक्कै’ लगायत पर्छन्।’ हरिले फिल्मभन्दा बेसी म्यूजिक भिडियो, विज्ञापनहरु खिचेका छन्।
अब त उनको परिचय कुशल छायांकार मात्र रहेन। फिल्म निर्देशक पनि भैसके। उनको निर्देशकीय डेब्यू फिल्म ‘सरौतो’ शुक्रबार(आज)देखि हल–हलमा पुगिसकेको छ।
२०५५/५६ सालतिर भागेर काठमाडौं आएका हरि अहिले फिल्म उद्योगको प्रतिष्ठिन नाम बनेको छ। तर, यहाँसम्म आउन उनले कति दुःख गरे? ‘धेरै होटल तथा घरमा भाँडा माझ्ने काम गरेको छु। फिल्म क्षेत्रमा पनि धेरै मेहनत गरेको छु’ – उनी विगत सुनाउँछन्,।
कुनै घर/होटलमा भाँडा माझ्दै थिए। फिल्म क्षेत्रमा उनका मामा थिए, नारायण तिमिल्सिना। उनकै माध्यमबाट हरिले पहिलोपटक ‘मुनामदन’ फिल्ममा भान्सा असिष्टेन्टको रुपमा काम पाए। ‘मुनामदन’ , ‘धनसम्पत्ती’ लगायतका केही फिल्ममा भाडा माझे। क्रमशः ‘स्पट ब्वाइ’, ‘लाइटम्यान’ हुँदै अगाडि बढे। क्रमशः असिष्टेन्ट सिनेम्याटोग्राफर भए। भिडियोहरु खिच्ने सीप सिक्दै गए। फिल्म क्षेत्रप्रति आकर्षित हुँदै गए।
त्यत्तिकैमा निर्माता सिमोस सुनुवारसंग भेट भयो। पहिलोपटक फिल्म ‘मिशन पैसा’ खिचे। उनको सिनेम्याटोग्राफीको प्रशंसा भयो। एकपछि अर्को फिल्म छायांकनमा ब्यस्त बन्दै गए। संगै पैसा पनि कमाए।
हरिको विशेषता भनेकै उनी खिचाइमा कम्प्रोमाइज गर्दैनन्। निर्देशकसंग शुरुवातबाटै सल्लाह लिन्छन्, दिन्छन्। कसरी हुन्छ स्तरीय फिल्म खिच्ने उनको ध्यान रहन्छ। निर्माता/निर्देशकलाई पहिल्यै आग्रह गर्छन् ‘मलाई अलिकति फ्रिडम चाँही चाहिन्छ है।’ आजसम्म जतिसंग काम गरेका छन्, ती फिल्ममा आफ्नो तरिकाले काम गर्न पाएकोमा खुसी देखिन्छन्।
नेपालमा सम्मान छैन्
उनले बुझेका छन् फिल्म राम्रो बन्न सम्पूर्ण टिमको उत्तिकै भूमिका रहन्छ। फिल्म टिम वर्क हो। त्यसैले सबैको कामलाई उत्तिकै सम्मान गर्नुपर्छ। तर, नेपालमा त्यस्तो पाउँदैनन् उनी।
‘म बेलाबेला कलकत्ता गएर एडहरु खिचेर आउँछु। त्यहाँ जाँदा महशुस हुन्छ, एउटा क्यामेरामेनलाई कस्तो ईज्जत हुन्छ। उसलाई आवश्यक सामग्रीहरु कसरी उपलब्ध गराइन्छ। काम गर्न गाह्रो हुन्छ भनेर स्पट चेन्ज गर्ने कि त्यो दिन नै आराम गर्नेसम्मको भ्यालु दिन्छन्’– हरि अनुभव सुनाउँछन्।
फिल्म लाखौं जनतालाई चित्त बुझ्ने हुनुपर्ने भएकाले टिमवर्क अनिवार्य रहेको उनी बताउँछन्। उनी नेपालको अनुभव पनि सुनाउँछन्, –‘नेपालमा चाहीँ जस्ले सस्तोमा काम गर्छ। जसलाई क्यामेरा मात्र राखेर काम गर्न आउँछ उसैलाई खोज्ने। मेरै पनि उदाहरण दिउँ न! हरिलाई लगेपछि खिचिहाल्छ भन्ने तर टिमवर्क नगर्ने परिपाटी छ।’
…अनि निर्देशक बने
हरिले फिल्मको गीत निर्देशन गरिसकेका थिए। ‘सरौतो’मा सुरुवातमा अरु नै निर्देशक थिए। फिल्मकी अभिनेत्री सुमी मोक्तानले दुई वर्षको मार्शल आर्ट प्रशिक्षण सकिसकेकी थिइन्। अन्य कलाकार पनि तयार थिए। तर, अन्तिममा निर्देशकलाई समय मिलेन।
धेरैको विश्वासको छायांकार, यस फिल्मको थिमबारे हरिमा ज्ञान थियो। निर्देशक बन्नुको रहस्य खुलाउँछन्, ‘टिममा सल्लाह भयो, अन्तिममा आएर अन्यलाई लिनुभन्दा मैले गर्दा सजिलो होला भनेर नै निर्देशन गरेको हुँ।’
सम्पूर्ण टिमको मेहनतले एउटा राम्रो फिल्म बनेको हरि बताउँछन्। उनले धेरै वर्षदेखि सहोदर भाईलाई छायांकनको काम सिकाईरहेका थिए। यो फिल्म हरिकै भाई उत्तम हुमागाईले खिचेका हुन्।
विगतलाई फर्केर हेर्दा हरि आफूलाई भाग्यमानी ठान्छन्। राम्रै कमाउँछन्। सन्तुष्ट छन्। एउटा मात्र पछुतो छ, पढन सकिन्। अब पनि उनको ठूलो सपना भने छैन्। मात्र, स्तरीय फिल्म, म्यूजिक भिडियो तथा विज्ञापन खिच्ने बाहेक। अन्य फिल्म निर्देशनबारे भने अहिल्यै सोचिनसकेको बताउँछन् उनी।
Facebook Comment