मिडियाले नेपाल, भारत र चीनलाई नजिक्याउन सहयोग गर्नुपर्छ

डिसी नेपाल
१३ मंसिर २०७६ १८:५१

काठमाडौं । नेपाल–चीन सम्बन्धलाई मिडियाले सकारात्मक ढङ्गले उजागर गर्नुपर्नेमा बुद्धिजीवी तथा सञ्चारकर्मीले जोड दिएका छन्। नेपाल चाइना मिडिया फोरमद्वारा ‘नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध सुदृढ गर्न मिडियाको भूमिका’ विषयमा आयोजित विचारगोष्ठीमा कार्यपत्र प्रस्तोता, टिप्पणीकर्ता र सहभागीले दुवै देशबीचको सम्बन्धबारेको इतिहास राम्रोसँग अध्ययन गरी त्यसबाट केही सिकेर सम्बन्ध अघि बढाउन पत्रकारले कलम चलाउनुपर्ने बताए।

उद्घाटनपछिको छलफल सत्रमा काठमाडौँ स्कूल अफ लका कार्यकारी निर्देशक तथा प्रमुख प्रा डा.युवराज सङ्ग्रौलाले कार्यपत्र प्रस्तुत गर्दै चिनियाँ राष्ट्रपति सी चिन फिङले सार्वभौमिकता, भौगोलिक अखण्डता, सुरक्षा, स्थिरता र समृद्धिको स्पष्ट अवधारणाका साथ ल्याएको बेल्ट एण्ड रोड इनिसियटिभलाई ऋणको पासोमा पार्ने तथा साम्राज्यवाद विस्तार गर्ने भनी आरोप लगाउनाको अर्थ नहुने बताउँदै चीनबाट लगानी, पर्यटक र रेल आउँदैमा साम्यवाद नआउनेबताए। उनले, “मिडियाले नेपाल, भारत र चीनलाई जुधाउनेभन्दा पनि नजिक्याउन सहयोग गर्नुपर्छ ।”

पत्रकार युवराज घिमिरेले दलहरुले राजनीतिक सार्वभौमिकता अरुलाई बुझाएको आरोप लगाउँदै अहिले भौगोलिक सार्वभौमिकता मिचिएको भनी कराउनुको अर्थ नहुने जिकिर गरे। उनले भने, “दलहरुले पहिले सार्वभौमिकताको चरित्र देखाउन सक्नुपर्छ ”।

प्रा डा. सङ्ग्रौलाको कार्यपत्रमाथि टिप्पणी गर्दै त्रिवि अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीति विभागका कार्यक्रम समन्वयकर्ता प्रा डा.खड्ग केसीले नेपालले व्यापार, लगानी, पर्यटन, कनेक्टिभिटी आदिका माध्यमबाट चीनसँगको सम्बन्ध र संलग्नता बढाउनुपर्नेमा जोड दिए। नेपालको राष्ट्रिय हित हेरी चीनबाट लगानी ल्याउनुपर्ने सुझाव पनि उनले दिएका छन्।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणपछि पत्रकारले सचेत भएर कलम चलाउनुपर्नेमा जोड दिएका छन्। उनले दुई देशबीचको सम्बन्धका समसामयिक चुनौतीलाई पनि उजागर गर्न पत्रकारलाई आह्वान गरे।

यसअघि शुक्रबार बिहान भएको उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासका लागि नेपाल, भारत र चीन त्रिदेशीय साझेदारीमा जोड दिएका थिए। उनले देशहरुबीच भौतिक विकास मात्र नभई विचारात्मक बहस पनि अघि बढाउन पत्रकारलाई आग्रह गरे।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले चिनियाँ लगानी आकर्षण गरी निर्यात बढाउनुपर्ने, व्यापार घाटा न्यूनीकरण गर्नुपर्ने र बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल भित्र्याउनुपर्ने बताए। नेपालस्थित चिनियाँ राजदूतावासका राजनीतिक तथा प्रेस शाखाका प्रमुख वाङ सियालोङले नेपाल चीन कनेक्टिभिटी र जनस्तरको सम्बन्धमा जोड दिए।

नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले नेपाल चीन सम्बन्ध सरकारस्तर, जनस्तर र राजनीतिक दलस्तरमा भइरहेको बताउँदै नेकपा नेतृत्वको सरकारले चीन र भारतसँग सन्तुलित सम्बन्ध बनाउन योगदान दिएको विचार राखे। सन् २००९ मा स्थापित मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले नेपाल चीन सम्बन्ध व्यवस्थित, मर्यादित र जिम्मेवार बनाउन मिडियाले भूमिका खेल्नुपर्ने बताउँदै फोरमको पहलमा पत्रकारहरुलाई चिनियाँ भाषा प्रशिक्षण दिन लागिएको जानकारी समेत दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *