श्रीमतीमाथि शंका गर्थे श्रीमान, श्रीमतीसँगको रिसले आफ्नै २ छोरीको हत्या गरिदिए
एजेन्सी। भारतको राजधानी दिल्लीसँग जोडिएको गौतम बुद्ध नगर जिल्लाको ग्रेटर नोएडामा बिहीबार राती एक व्यक्तिले श्रीमतीसँग झगडा भएपछि आफ्ना २ छोरीको हत्या गरेका छन् । घटनाको खुलासा शुक्रबार बिहान भयो । पिताको क्रुरतामा बली चढेका छोरीहरुमध्ये एकको उमेर ७ वर्ष र अर्कीको उमेर अढाइ वर्ष थियो ।
आज तकको समाचारअनुसार पुलिसले हत्याका आरोपी पितालाई गिरफ्तार गरेको छ । आरोपीको नाम हरिश सोलंकी हो । घटनाक्रमअनुसार सधैंजस्तै हरिश बिहीबार पनि मादकपदार्थ सेवन गरेर घर पुगे । त्यसपछि उनको श्रीमतीसँग झगडा भयो । झगडाका कारण श्रीमती आफ्ना ४ वर्षका छोरालाई लिएर घरबेटीकहाँ गइन् । घरमा हरिश दुई छोरीसँग रहे । रातमा हरिशले एक छोरीको भित्तामा टाउको ठोक्याएर र अर्कीको इट्टाले टाउको किचेर हत्या गरे ।
पत्नी बिहान कोठामा जाँदा घटनाको खुलासा भयो । पुलिसले दुवै बालिकाको शव पोष्टमार्टमको लागि पठाएको छ । सुरजपुर थानामा हत्याको मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाइएको छ । आरोपी हरिशकी पत्नी रुबी घरहरुमा घरेलु कामकाज गर्छिन् । हरिश पेन्टरको काम गर्थे । पुलिसका अनुसार हरिश पत्नीको चरित्रमा शंका गर्थे र उनलाई कुटपिट गरिरहन्थे ।
Facebook Comment