भाजपाको सरकार ४ दिनमै ढालेका ठाकरेले प्राप्त गरे बहुमत
नयाँ दिल्ली (एजेन्सी) । भारतको महाराष्ट्र विधानसभामा शनिबार उद्धव ठाकरे सरकारले बुहमत परीक्षण गराएको छ । शिव सेना, एनसीपी र काँग्रेस आईको महागठबन्धनले सरकार बनाएको थियो । शिव सेना नेता उद्धव ठाकरे सरकारको पक्षमा शनिबार महाराष्ट्र विधान सभामा १६९ विधायकले मतदान गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सरकराको विश्वास मतमाथि मतदान हुँदा विपक्षी पार्टी भारतीय जनता पार्टीले सदन बहिस्कार गरेकाले विपक्षमा एक मत पनि परेन । मतदानमा ४ विधायक तथस्ट बसेका थिए । जसमा महाराष्ट्र नवनिर्माण सेवा पार्टी पनि सहभागी रह्यो । यसअघि सो दलले ठाकरे सरकारको समर्थन गर्ने जनाइएको थियो । शिव सेना, एनसीपी र काँग्रेसको महागठबन्धको नेतृत्व गर्दै शिव सेना नेता ठाकरेले गएको बुधबार मुख्यमन्त्रीको पदभार ग्रहण गरेका थिए ।
शनिबार २ बजे विधानसभाको कारबाही शुरु भएपछि विपक्षीले यसको विरोध गरे । विपक्षी पार्टी भाजपाका नेता देवेन्द्र फडणवीसले सरकारमाथि नियम मिचेर सदन चलाएको आरोप लगाए । सभाको कारबाही हुँदा सबैभन्दा पहिला उपस्थित विधायकको गणना गरिएको थियो । यसक्रममा भाजपाका सदस्यहरुले यो नियम विपरित भएको भन्दै हंगामा गरेका थिए । यसपछि भाजपाका सबै १०५ सदस्यले सदन बहिस्कार गरे । संसदबाट बाहिरिएपछि भाजपा नेता फडणवीसले पत्रकारहरुसँग कुरा गर्दै सदनमा अपनाइएको प्रक्रिया अवैधानिक भएको बताए । उनले निमय मिचेर अस्थायी सभामुखलाई हटाएर नयाँ अस्थायी सभामुख बनाइएको बताए ।
उनले यो अधिवेशन बोलाउन नयाँ प्रक्रिया शुरु हुनुपर्ने बताए । तर, यो अधिवेशनमा पनि गएको अधिवेशनलाई नै जारी गरिएको बताए । उनले मुख्यमन्त्री र मन्त्रिहरुको शपथ पनि गलत तरिकाले लिइएको बताए । फडणवीस ठाकरेभन्दा अघिल्लो सरकारका मुख्यमन्त्री हुन् । उनको सरकार ४ दिनमै ढलेको थियो ।
शनिबार शिव सेना नेता ठाकरे नेतृत्वको सरकारले बुहमत परीक्षण गराएसँगै विगत केहीदिनदेखिको महाराष्ट्रको नाटकीय राजनीतिमा पूर्णविराम पनि लागेको छ ।
गएको शनिबार भाजपा नेता फडणवीसले एनसीपी नेता अजित पवारको सहयोगमा नाटकीय रुपमा मुख्यमन्त्रीको शपथ लिएका थिए । जबकी त्यसको अघिल्लो दिनसम्म ठाकरेले सरकार बनाउने अन्तिम तयारी भइरहेको थियो । तर, नाटकीय रुपमा फडणवीसले मुख्यमन्त्रीको शपथ लिएपछि एनसीपी विभाजनको संघारमा पुगेको थियो । त्यसयता ४ दिनसम्म भएका विभिन्न दलहरुका बैठ र सर्वोच्च अदालतको आदेशका कारण फणडवीसले ४ दिनमै मुख्यमन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । उनले अघिल्लो शुक्रबार रातभरको दौडधुपमा सरकार बनाएका थिए । महाराष्ट्रका जनता शुक्रबार राती सुत्दा राज्यमा राष्ट्रपति शासन थियो भने बिहान उठ्दा भाजपा नेता फडाणवीसले मुख्यमन्त्रीको शपथ लिइसकेका थिए ।
यसरी रातारात प्रधानमन्त्री नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविद र महाराष्ट्रका राज्यपाल भगत सिंह कोश्यारी सक्रिय हुँदा राष्ट्रपति शासन हटेर भाजपाले सरकार बनाउने वातावरण बनेको थियो । तर, त्यसपछि एनसीपीले फडणवीस सरकारलाई समर्थन नरहेको बताएपछि तत्कालीन विपक्षी दलहरु सर्वोच्च अदालत पुगेका थिए । अदालतले सदनमा बुहमत सावित गर्न फडणवीस सरकारलाई आदेश दिएपछि फडणवीसले सदनमा बहुमत परीक्षण हुनुअगवौ पदबाट राजीनामा दिएका थिए ।
Facebook Comment