१३ औं साग : नेपालको स्वर्ण संख्या ३६ पुग्यो, भारत शीर्ष स्थानमा, भुटान स्वर्णबिहीन
काठमाडौं। नेपालमा जारी १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको बिहीबार पाँचौ दिन नेपालले थप ७ स्वर्ण पदक जितेको छ। बुधबारसम्मम २९ स्वर्ण जितेको नेपालले बिहीबार थप ७ स्वर्ण जित्दै ३६ पुर्याएको हो। नेपालले बिहीबार साइकिलिंगमा २, उसुमा एक, पौडीमा एक, तेक्वान्दोमा २ र भारत्तोलनमा एक स्वर्ण जितेको हो।
नेपालले स्वर्ण आश गरेको मार्शलआर्टका कराँते र तेक्वान्दोका खेल सकिएका छन्। कराँते बुधबारै सकिएको हो भने तेक्वान्दोका खेल बिहीबार सम्पन्न भएका छन्।
पदक तालिकाको दोस्रो स्थानमा रहेको नेपालको बिहीबारसम्म ३६ स्वर्ण, २६ रजत र ३४ काश्यसहित ९६ पदक जितेको छ।
उता शीर्ष स्थानमा रहेको भारतले ५८ स्वर्ण, ४१ रजत र १९ काश्यसहित ११८ पदक जितेको छ। खेलको पहिलो तीन दिनसम्म नेपाल शीर्ष स्थानमा थियो। चौथो दिन बेलुकाबाट भारतले नेपाललाई उछिनेको थियो। साग इतिहासमा नेपालले यो पटक सर्वाधिक स्वर्ण जिते पनि समग्रमा भने भारतको वर्चस्व यथावत रहने देखिएको छ। खास गरी नेपालको एथ्लेटिक्समा कमजोर प्रदर्शन हुँदा भारतलाई फाइदा भयो। एथ्लेटिक्समा भारतको कब्जा रह्यो।
बुधबारसम्म चौथो स्थानमा रहेको श्रीलंका बिहीबार भने तेस्रो स्थानमा उक्लिएको छ। तेस्रो स्थानको पाकिस्तानलाई उछिन्दै श्रीलंका पदक तालिकाको तेस्रो स्थानमा उक्लिएको हो। श्रीलंकाको बिहीबारसम्म १६ स्वर्ण, ३१ रजत र ५२ काश्यसहित ९९ पदक पुगेको छ।
यस्तौ चौथो स्थानमा रहेको पाकिस्तानको १२ स्वर्ण, २१ रजत र २२ काश्यसहित ५५ पदक भएको छ। यस्तै पाँचौ स्थानको बांगलादेशको ४ स्वर्ण, १० रजत र ४० काश्यसहित ५४ पदक भएको छ।
माल्दिभ्स बिहीबार पदक बिहीन रह्यो। उसको १ स्वर्ण र २ काश्यसहित ३ पदक छ। उता भुटानले पाँचौ दिनसम्म पनि स्वर्ण र रजतसम्म जित्न सकेको छैन। भुटानको ६ काश्य पदक छ।
Facebook Comment