अकस्मात जम्काभेट भएका माधव नेपाललाई देउवाले ‘हिरो’ बन्न अफर गरेपछि…
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, माधव नेपाल र पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहको एक्कासी जम्मा भेट भयो। तीनै जनालाई एकअर्काको विमानस्थलमा आउने तालिकाबारे जानकारी थिएन।
पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी कार्यक्रमका लागि नवलपसारी जाने कार्यक्रम थियो। यसैगरी नेकपा वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपाल पनि पार्टी कार्यक्रमका लागि सिमरा जाने कार्यक्रम थियो।
पूर्व उपप्रधानमन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंह गणेशमान सिंह फाउण्डेनशको कार्यक्रममा सहभागी हुने विराटनगर जाने पूर्वनिर्धारित कार्यकताकिला अनुसार तीनै जना नेता शुक्रबार विहान आठ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
तीनै जना नेताबीच अचानक भेट भएपछि राजनीतिक चर्चा त हुने नै भयो। सुरुमा अन्य राजनीतिक विषयमा कुरा भएपनि कांग्रेस सभापति शेरबहादुर देउवाले कालापानी, लिम्पियाधुरा र लिपुलेकका विषयमा चर्चा गर्न सुरु गरे।
भारत सरकारले नेपाली भू–भाग लिपुलेकसहितलाई आफ्नो नक्शामा समेटेर नयाँ नक्शा जारी गरेपछि त्यसको नेपालमा चौतर्फी विरोध भइरहेको छ।
प्रधानमन्त्री केपी ओलीले उक्त विवाद समाधानका लागि सर्वदलीय बैठकको आयोजना गरेका थिए। उक्त बैठकले सीमा विवाद समाधान गर्न सहमति जुटाउँदै त्यसको पहल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको थियो।
अहिले प्रधानमन्त्री ओली एपेण्डिसाटिसको उपचारपछि बिहीबारमात्रै स्वास्थ्यलाभ गरी सरकारी निवास बालुवाटार फर्किएका छन्। योबीचमा प्रधानमन्त्री ओलीले सीमा विवाद समाधानका लागि पूर्व प्रधानमन्त्री नेपाललाई सरकारको विशेषदूत बनाएर दिल्ली पठाउने तयारी गरेको समाचार सार्वजनिक भएको थियो। त्यसका लागि नेता नेपाल पनि तयार भएको समाचार संचारमाध्यममा आएको थियो।
शुक्रबार अचानक देउवा नेपाल र सिंहबीच भेट हुँदा देउवाले नेता नेपाललाई सरकारको विशेषदूत बनेर दिल्ली जाने विषयमा चासो राखेका थिए। ‘सीमा विवाद समाधान गर्न तपाईँ सरकारको विशेषदूत बनेर दिल्ली जाने चर्चा छ, तपाईँ जानुस्। नेपाली भूमि कुनै पनि हालतमा कसैलाई मिच्न दिनु हुँदैन्,’ देउवाको भनाइ उद्धृत गर्दै एक सहभागीले भने।
जवाफमा नेता नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने समय नमिलेका कारण भारत जाने मिति तय नभएको बताएका थिए। याे विषयमा कुरा हुँदै गर्दा जहाज उड्ने समय भएपछि तीनै जना नेता बुद्ध एयरका जहाजमार्फत गन्तव्यतर्फ लागेका थिए।
Facebook Comment