हैदराबाद इन्काउन्टर एक्कासी विवादित, पुलिसमाथि कारवाहीको माग !
हैदराबाद। महिला डाक्टरलाई सामूहिक बलात्कार गरी हत्या गरेर शव जलाउने ४ जना अभियुक्तलाई हैदराबाद पुलिसले इन्काउन्टरमा गोली हालेर मारिदिएको घटना एक्कासी विवादित भएको छ । यो इन्काउन्टरमा गम्भीर प्रकृतिका प्रश्न उठ्न थालेका छन् । भारतको सर्वोच्च अदालतकी वकिल वृन्दा ग्रोवरले पुलिसमाथि मुद्दा चलाउन माग गरेकी छिन् ।
उनका अनुसार पुलिसमाथि मुद्दा दर्ता गरिनुपर्छ र पूरै घटनाको स्वतन्त्र न्यायिक जाँच गराइनुपर्छ । महिलाको नाममा कुनै पनि पुलिस इन्काउन्टर गर्नु गलत हो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष रेखा शर्माले भनिन् ‘इन्काउन्टर सधैं ठिक हुँदैनन् । यो घटनामा पुलिसको दावी अनुसार बन्दुक खोसेर भागिरहेका थिए । यस्तोमा शायद पुलिसको निर्णय सही हो । हाम्रो माग आरोपीलाई फाँसीको सजाय दिइयोस् भन्ने थियो तर कानुनी प्रक्रिया अनुसार ।’
महिला डाक्टरको सामूहिक बलात्कारपछि हत्या गरेर शव जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा लगेर इन्काउन्टरमा मारिदिएको हो । हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई बलात्कार गरेर मारेका थिए । तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आरोपीलाई इन्माउन्टर गरिदिएको हो ।
हैदराबाद पुलिसले चारैजना आरोपीलाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको जलेको शव भेटिएको थियो । पुलिसले चारैजना आरोपीलाई घटनाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो । यो इन्काउन्टर शुक्रबार बिहान भएको हो । यसअघि महिला डाक्टरमाथि भएको क्रुरताविरुद्ध देशभर प्रदर्शन भइरहेको थियो । मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए । पुलिसका अनुसार घटनाको रिक्रिएशनका लागि लगिएका चारैजना आरोपीले भाग्ने कोसिस गरेपछि चारैजनालाई गोली हानेर मार्नुपरेको थियो ।
पुलिसले आरोपीहरुलाई हैदराबादको केराकुल्ली जेलमा राखेको थियो । जब पुलिसले आरोपीलाई लिएर पुलिस थाना पुग्यो, मानिसहरुले यो कुरा चाल पाए र एकैछिनमा सयौं मानिसहरुले पुलिस चौकी घेरेका थिए । त्यसपछि पुलिसले त्यो थानाको सुरक्षा बढाएको थियो र पछि चारैजना आरोपीहरुलाई हैदराबाद जेल ल्याइएको थियो । चारैजना आरोपीहरुलाई केराकुल्ली सेन्ट्रल जेलको फरक फरक ब्यारेकमा राखिएको थियो ।
Facebook Comment