राष्ट्रसंघ सुरक्षा परिषद् सदस्यबीच मजबुत सहकार्यका लागि जोड
वासिङ्टन, डिसी, अमेरिका । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् सदस्य राष्ट्रहरूले बिहीबार साझा सुरक्षाका विषयलाई सम्बोधन गर्न सहकार्य बढाउनुपर्नेमा जोड दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा ह्वाइट हाउसमा संयुक्त राष्ट्रसंघका लागि विभिन्न देशका कूटनीतिज्ञलाई दिइएकोे दिवा भोजका सहभागीहरूले साझा सुरक्षाका विषयमा थप सहकार्यको आवश्यकता औँल्याएका हुन्।
यही डिसेम्बर १ देखि सुरक्षा परिषद्को अध्यक्षता अमेरिकाले लिएको सन्दर्भमा सदस्य राष्ट्रहरूसँगको समन्वयलाई जोड दिन र समस्याका विषयमा छलफल गर्न विभिन्न मुलुकबाट राष्ट्रसंघका लागि खटिएका कूटनीतिज्ञसँग परामर्श गरेका हुन् ।
भेलामा हाल सुरक्षा परिषद्मा रहेका १८ राष्ट्रका साथै सन् २०२० मा सदस्यता लिँदै गरेका मुलुकका प्रतिनिधिको उपस्थिति थियो ।
कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले भन्नुभयो, “हाम्रा राष्ट्रहरूले आतङ्कवाद, लागु औषध कारोबार, गैरकानूनी आप्रवासन, साइबर आक्रमण र आणविक, रासायनिक तथा जैविक हतियारलगायतका समान खालका सुरक्षा चुनौतिका श्रृङ्खलाको सामना गर्नुपरेको छ।”
राष्ट्रपति ट्रम्पले सुरक्षा परिषद्मा थपे, “विश्वले सामना गर्नुपरेका यि र अन्य सुरक्षा खतराविरूद्ध एक भै काम गरौँ । मलाई लाग्छ राष्ट्रसंघको व्यापकताको आवश्यकता छ ।”
“सहकार्य गर्ने, एकता कायम राख्ने, संयुक्त राष्ट्रसंघलाई बलियो बनाउने तथा विश्वमा शान्ति,सुरक्षा र विकास कायम गर्ने सदस्य राष्ट्रको जिम्मेवारी हो,”संयुक्त राष्ट्रसंघका लागि चीनका राजदूत झाङ चुनले बताए । रासस
Facebook Comment