प्रहरीले गोली चलायो, फिल्डका प्रहरी भन्छन्, ‘चारैतिरबाट ढुंगामुडा भएको छ’

डिसी नेपाल
२२ मंसिर २०७६ १६:०६

काठमाडौं। आइतबार बाँकेको कोहलपुरमा एक विद्यार्थीलाई मालबाहक ट्रकले ठक्कर दिएपछि आक्रोशित स्थानीयले ट्रक जलाएपछि उत्पन्न तनाव नियन्त्रण बाहिर गएको छ। स्थानीय प्रशासनले आइतबार दिउँसोबाट अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरे पनि प्रदर्शनकारी भने कोहलपुरको सडकमै रहेको फिल्डमा खटिएका एक प्रहरी अधिकारीले डिसीनेपाललाई जानकारी दिए।

डिसी नेपालसँगको टेलिफोनमा उनले भने, ‘यहाँ स्थिति नियन्त्रण बाहिर छ, म आफै घाइते भएको छु, चारैतिरबाट हामीमाथि ढुंगा प्रहार भइरहेको छ।’
फोनमा निकै हतास मुद्रमा उनले घटनाको पूरा विवरण दिन असमर्थ रहेको बताए। उनले घटनामा केही प्रहरी घाइते भएको समेत बताए।

कोहलपुर खण्डमा तनाव भएपछि बाँकेबाट अनेत्र जाने सवारी साधानसमेत चल्न सकेका छनैनन्। प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाएको छ। गोली चलाउँदा दुईजना विद्यार्थी घाइते भएको जनाइएको छ।

कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको हो। दुर्घटनालगत्तै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले ट्रकमा आगो लगाइदिएका छन्।

प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिरहेको छ । झडपमा केही प्रहरी र प्रदर्शनकारी पनि घाइते भएका छन्। आक्रोशित विद्यार्थीहरुले सडकमा रहेका गाडीमा समेत ढुङ्गा प्रहार गरेका छन्। कोहलपुरबाट नेपालगञ्ज आउँदै गरेको मालवाहक ट्रकले विद्यालयमा अध्ययनरत विद्यार्थी चन्दलाई ठक्कर दिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।

कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको ट्रक ना२ख ९४५९ नंको ट्रकको ठक्करबाट प्रकृतिको अवस्था यकिन भएको छैन। आफ्ना बुबासँग मोटरसाइकलमा विद्यालय आएकी प्रकृतिलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको थियो।

जेब्राक्रसिङ नजिकबाट सडक पार गर्ने क्रममा सोही दिशाबाट आएको ट्रकले ठक्कर दिँदा प्रकृतिलाई केही परसम्म घिसारेर लगेको थियो। “ट्रकले कुल्चँदा प्रकृतिको एउटा खुट्टा शरीरबाट अलग भएको छ । खुट्टाको हड्डी सडकमा छरपस्ट छ”, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिँदै भने।

दुर्घटनामा प्रकृतिको बुबासमेत घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै प्रकृति र उनको बुबालाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ। विद्यालय प्राङ्गण नजिक भएको दुर्घटनालगत्तै आक्रोशित बनेका विद्यार्थी तथा स्थानीयवासीले ट्रक नियन्त्रणमा लिएर तोडफोड तथा आगजनी गरेका थिए।

लगत्तै आक्रोशित भएको भीडलाई मत्थर पार्न आएको इलाका प्रहरी कार्यालय कोहलपुरको प्रहरी टोलीमाथि समेत विद्यार्थी ढुङ्गा, इँट्टा प्रहार गर्दै आन्दोलित बनेका छन्। ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि आक्रोशित बनेका विद्यार्थीले अन्य सवारी साधनमाथि समेत प्रहार गरेका थिए। स्थिति तनावग्रस्त बनेपछि प्रहरीले दर्जनभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ।

आक्रोशित विद्यार्थीले नेपालगञ्ज–कोहलपुर रुटमा चलेका दर्जन गाडीमा तोडफोड गरिदिएका छन् । दुर्घटनापछि कोहलपुरमा धेरै सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ। विद्यार्थीलाई प्रहरीले लाठी प्रहार गरेपछि आक्रोशित स्थानीय बासिन्दा र अभिभावक पनि भीडमा मिसिएका छन्।

प्रहरीले भीडलाई हटाउन हवाई फायरसमेत गरेको छ। आक्रोशित विद्यार्थीले सडक ठप्प पारिदिएका छन् भने कोहलपुर बजार बन्द भएको छ। प्रहरीले थप टोली मगाएर भीडलाई नियन्त्रण गर्ने प्रयास गरेको छ । झडपमा केही प्रहरी र विद्यार्थी घाइते भएका छन्। (राससको सहयोगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *