अवरुद्ध शिखर सम्मेलन शीघ्र गरेर सार्कलाई पुनर्जीवन दिऔँ : प्रधानमन्त्री

डिसी नेपाल
२२ मंसिर २०७६ २०:४२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अवरुद्ध दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को शिखर सम्मेलन शीघ्रातिशीघ्र आयोजना गरेर सङ्गठनलाई पुनर्जीवन दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

सार्क स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा आइतबार सन्देश दिँदै उनले नेपाल सार्कको बडापत्र, त्यसका सिद्धान्त र उद्देश्यप्रति पूर्ण प्रतिबद्ध रहेको बताए । सन्देशमा उनले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षका नाताले दक्षिण एशियाका जनताका साझा आकाङ्क्षा पूरा गर्न सङ्गठनका सदस्य राष्ट्रसँग निरन्तर रचनात्मक संवाद र साझेदारीका निम्ति नेपाल दृढ रहेको बताएका छन्।

दक्षिण एशियाका १ अर्ब ७० करोडभन्दा बढी जनताको आशाको क्षेत्रीय सङ्गठन सार्कको प्रभावकारिता वृद्धिमा जोड दिँदै प्रधानमन्त्री ओलीले सार्कलाई गतिशील एवं परिणाममुखी तुल्याउन सदस्य राष्ट्रले उच्च प्राथमिकता दिनुपर्ने बताए । दु्र्त आर्थिक, विकास, सामाजिक प्रगति र सांस्कृतिक विकासका माध्यमबाट उपयुक्त वातावरण सृजना गरी दक्षिण एशियाका जनताको जीवनस्तर उकास्नमा सार्क बडापत्रले जोड दिएको प्रधानमन्त्री ओलीले स्मरण समेत गरे।

“सार्क दक्षिण एशियाका जाताको साझा मञ्च हो, गरिबी, जलवायु परिवर्तन र आतङ्कवादजस्ता जल्दाबल्दा समस्याविरुद्ध एकताबद्ध भएर लड्ने क्षेत्रीय ऐक्यबद्धताको अभिव्यक्ति पनि हो,” उनले सन्देशमा भनेका छन् । यसैगरी, मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहले दिएको सन्देशमा दक्षिण एशियाका जनताको प्रगति, पारस्परिक विश्वास, समझदारी र साझेदारी अभिवृद्धि गर्न सार्कलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिए।

यसैअवसरमा बङ्गलादेशका विदेशमन्त्री ए के अब्दुल मोमेनले पनि एक सन्देश जारी गरी तीन दशकभन्दा पुरानो साझा क्षेत्रीय सङ्गठन सार्कलाई यस क्षेत्रको आर्थिक विकास, सामाजिक उन्नयनका निम्ति उपयोग गर्न अपरिहार्य भएको बताएका छन् । सार्कका महासचिव अमजद हुसेन बी सियालले आठवटै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख र जनतामा हार्दिक शुभकामना व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *