मानवता विरोधीकार्य गर्नेलाई कारवाही हुन्छ : मन्त्री कार्की

डिसी नेपाल
२३ मंसिर २०७६ १८:०३

विराटनगर । प्रदेश नं–१ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मानवता विरोधी कार्य गर्नेलाई कानून अनुसार कारवाही गरिने बताएका छन् ।

राष्ट्रिय मानवाधिकार आयोग प्रदेश नं–१ कार्यालयद्वारा सोमबार आयोजित ‘सबैका लागि घर–घरमा मानवाधिकार : शान्ति र विकासको आधार’ प्रमुख नाराका साथ ७१औँ अन्तर्राष्ट्रिय मानवाधिकार दिवस तथा मानवाधिकार प्रदेश महाभेला–२०७६को सन्दर्भमा ‘दलित मानवाधिकारको अवस्था र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले छुवाछुतको विरोधमा उजूरी नलिने प्रहरीमाथि पनि कारवाही हुने बताए ।

मन्त्री कार्कीले मानवाधिकार विषयमा राज्यले तय गरेको न्यूनतम मापदण्ड पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आर्थिक र सामाजिक कारणले प्रश्रय पाएको यस्तो घिनलाग्दो विषयलाई समाजबाट हटाउन सबै सजग बन्नुपर्ने धारणा राखे ।

प्रमुख न्यायाधिवक्ता चुडामणि आचार्यले मानवसभ्यताका कलङ्कका रुपमा रहेको छुवाछुत हटाउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए । प्रहरी उपरीक्षक विश्व अधिकारीले मानव मर्यादा र प्रतिष्ठामा आँच आउने छुवाछुतलाई प्रश्रय दिनेलाई कारवाही हुनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष विक्रम लुइँटेल, अनौपचारिक क्षेत्र सेवा केन्द्रका प्रमुख सोमराज थापा, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, नेपाली काँग्रेस मोरङका सचिव यदु विष्ट र राष्ट्रिय मानवाधिकार आयोगका प्रमुख मोहनदेव जोशीले सामाजिक परिवर्तनको दिशातर्फ हामी सबैले एकजुट भएर लागेमा छुवाछुत प्रथा हट्ने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *