युआरएल पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल) द्वारा स्थापित स्वास्थ्य पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सुरेन्द्र पौडेल सम्मानित भएका छन् ।
पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रको विकासमा योगदान पुर्याउने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार, दोसल्ला र सम्मानपत्र रहेको छ।
गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सो संस्थाको छैँटौँ वार्षिक साधारणसभाका अवसरमा उक्त पुरस्कारबाट पत्रकार पौडेललाई सम्मान गरेका हुन् ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन आहारविहार, जीवनशैली र स्वास्थ्य परीक्षणको सुलभ व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नागरिकलाई स्वस्थ बनाउन आमाहरुलाई सचेत गराउनुपर्ने आवश्यकता औँल्याए ।
गण्डकी मेडिकल कलेजका प्रिन्सिपल डा. रवीन्द्रप्रसाद श्रेष्ठले प्रयोगशाला र चिकित्सक एकअर्काका परिपूरक भएको उल्लेख गर्दै रोगको निदान र उपचारका लागि गुणस्तरीय ल्याबको महत्वपूर्ण भूमिका रहने बताए ।
निजी अस्पतालको साझा सङ्गठन (अफिन) का अध्यक्ष अशोक पालिखेले स्वास्थ्य संस्था सञ्चालनमा अनेक व्यवधान उत्पन्न हुने गरेको बताउँदै प्रशासनले कानुनअनुसार कमजोरी गर्नेलाई कारवाही गर्नुभन्दा पनि मिल भन्ने गरेको बताए ।
युआरएलका अध्यक्ष सुशील थापाले संसारमा रगतका करीब तीन हजारथरि परीक्षण हुने उल्लेख गर्दै गण्डकी प्रदेशलाई रक्तजाँचमा आत्मनिर्भर बनाउनतर्फ लागेको जानकारी दिए ।
नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले व्यवसायसँगै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नु व्यवसायीको कर्तव्य भएको बताए ।
कार्यक्रममा प्रतिभा छनोट समिति संयोजक हरि बाँस्तोलाले पोखरामा बिट पत्रकारिताको खाँचो औँल्याउँदै पोखरामा ३० अस्पताल, १५० प्रयोगशाला, ठूलो सङ्ख्यामा रहेका मेडिकलले सर्वसुलभ सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । रासस
Facebook Comment