नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २६ देखि २८ सम्म हुने
वासिङ्गटन डिसी । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौंथो संस्करण २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको छ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ ।
वासिङ्गटन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौंथो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरीबाट आवेदन खुला गरिएको छ।
चलचित्र महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने छन्।
नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विभिन्न देशका स्वतन्त्र सिनेमाहरु यस महोत्सवको उच्च प्राथमिकतामा पर्नेछन् ।
गत वर्ष देखि वासिङ्गटन डीसी,मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीहरुलाई प्रोत्साहान गर्न ‘डीएमभी क्लोजअप’ प्रदर्शनी थपिएको थियो।
२०२० मा पनि ुडीएमभी क्लोजअपु झन् बृहत गरिने छ । स्थापना देखिने ग्लोबल पिस फिल्म फेस्टिवल फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएको चलचित्रहरु आगामी वर्ष पनि समावेश हुने जनाइएको छ।
अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन् ।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ । महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन्।
महोत्सवमा चलचित्र प्रदर्शन पछि उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।
गत जुन महिनामा मेरिल्याण्डको एएफआइ सिल्भर थिएटर, सिल्भरस्प्रिङ्ग र रेगल सिनेमा ह्यास्भिलमा सम्पन्न महोत्सवमा निर्देशक बिनोद पौडेलको बुलबुल उद्घाटन चलचित्र र निर्देशक प्रवीन स्याङ्ग्बोको चलचित्र कथा–७२ समापनमा प्रदर्शन भएको थियो।
२०१८ मा उत्कृष्ट चलचित्र जित्न सफल ूबिजुली मेसिनू चलचित्र अमेरिका, युके र जर्मनीमा अमेजन प्राइम ले उपलब्ध गराएको छ ।
महोत्सवले प्रत्येक वर्ष एउटा उचाइ बढाउदै लगेको छ । नेपाली मात्र होइन, अमेरिकामा रहेका अन्तर्राष्ट्रिय डायस्पोराको साझा मंचको रुपमा स्थापित गराउने लक्ष्य आयोजकको छ।
चलचित्रको आवेदन अनलाइन मार्फत पनि दिन सकिने छ । नेपालका चलचित्रकर्मीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन्।
आवेदन सम्बन्धिका विवरण तथा नियमहरु आयोजक संस्थाको वेभसाइट www.nafilmsociety.org मा उपलब्ध छ ।
Facebook Comment