पूर्वमा चासोक तङ्नामकाे राैंनक

डिसी नेपाल
२५ मंसिर २०७६ २०:२५

ताप्लेजुङ । किराँत समुदायको बाक्लो बसोबास रहेको ताप्लेजुङ सहितका पुर्वी पहाडी जिल्लामा चासोक तङ्नाम पर्व धुमधामका साथ मनाँईदै छ । किराँत समुदायले विशेष महत्वका साथ मनाउने पर्व चासोक तङ्नाम शुरु भएसँगै यसको रौनकताले छपक्कै छोपेको छ ।

ताप्लेजुङमा भने बुधबार र बिहीबार दुई दिनसम्म विभिन्न सांस्कृतिक कार्यक्रमसहित यो पर्व मनाइँदैछ । विगतका वर्षमा जस्तै यो वर्ष पनि किराँत समुदायले सामूहिक रुपमा पूजाआजासहितका कार्यक्रम आयोजना गरी चासोक तङ्नाम मनाउँदैछन् । धान्य पूर्णिमाका दिन लिम्बूसहित किराँत समुदायमा पर्ने राईले साकेला, याखाले चासुवा र सुनुवारले फोलस्यादरका रुपमा यस पर्वलाई मनाउँदै आएका छन् ।

लिम्बू समुदायमा आदिमकालदेखि नै न्वागी पूजा गरी अन्नप्रति सम्मान गर्ने परम्परा छ । अन्नलाई किराँत समुदायले माङ् (देवता) का रुपमा मान्ने गर्छन् । धान पाक्ने मौसम कार्तिकदेखि धान्य पूर्णिमासम्म नै पाकेको अन्नबालीलाई थान थापेर पुज्ने र प्रकृति देवीलाई चढाउने गरिन्छ । चासोक तङ्नामलाई न्वागी पूजाको रुपमा समेत लिइन्छ ।

‘चासोक तङ्नाम’ विभिन्न धार्मिक, ऐतिहासिक, सांस्कृतिकस्थलमा पूजाआजासहित आयोजना गरिन्छ । पर्वमा किराँत समुदायको परम्परागत वेशभूषा र गरगहनाको पहिरनसहित पालाम, धान नाच र च्याब्रुङ नाचसमेत नाच्ने गरिन्छ । ताप्लेजुङमा यो वर्ष पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित खेलकूद प्रतियोगिता आयोजना भएको छ ।

चासोक तङ्नाम पर्व केही वर्षअघि सम्म एक दिनमात्रै मनाउने गरिए पनि पछिल्लो समयमा विभिन्न कार्यक्रमसहित दुई–तीन दिनसम्म मनाउने प्रचलन शुरु भएको छ । किराँत याक्थुङ चुम्लुङ जिल्ला कार्य समिति र फुङलिङ नगर कार्य समितिले संयुक्त रुपमा पर्व विशेष विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

यता किराँत समुदायको परम्परागत पर्व र संस्कार संस्कृतिलाई जोगाउन पछिल्लो समयमा किराँत समुदाय विशेष सङ्घसंस्था पनि सक्रिय हुन थालेका छन् । आफ्नो संस्कार संस्कृतिलाई संरक्षण गर्नका लागि सबै पक्षसँग आह्वान गरेको किराँत याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य भद्र बोखिमले बताए। चासोक तङ्नाम लिम्बू समुदायको बाहुल्यता रहेको ताप्लेजुङ, पाँचथर, इलाम, झापा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीमा धुमधामले मनाउने गरिन्छ । यस्तै विदेशमा बसोबास गर्दै आएका लिम्बू समुदायले समेत चासोक तङ्नामका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *