रेलको ठक्करबाट दुई हात्ती मरे, फूलमालाले सिङ्गारेर दिईयो श्रद्धाञ्जलि
नयाँ दिल्ली । यात्रुवाहक रेलले ठक्कर दिएर भारतमा बुधबार दुई हात्ती मरेका छन् ।
स्थानीयले दाह संस्कार गर्नुअघि ती मृत हात्तीको शवलाई फूलमालाले सिङ्गाँरेर श्रद्धाञ्जलि दिएका थिए ।
रेलले ठक्कर दिएर मात्रै पछिल्लो पाँच वर्षमा कम्तीमा २६ हात्ती मरेका छन् भने अरू कैयौँ घाइते भएका छन्।
ठक्कर लागेर मृत्यु भएका दुईमध्ये एउटा हात्ती गर्भवतीसमेत रहेको वन्यजन्तु अधिकारीहरूले बताएका छन् ।
स्थानीय समयानुसार ४ः३० मा घटना भएको हो । उत्तरी सीमा क्षेत्रको रेलमार्गमा बाटो पार गर्न लाग्दा रेलले ती हात्तीहरूलाई ठक्कर दिएको रेल सेवाका प्रवक्ता सुभानान चन्दले जानकारी दिए ।
रेलमार्गमा टाढासम्म देखिने गरी भिजिबिलिटी नरहेकाले नदेखिएर रेलले हात्तीलाई ठक्कर दिएको उनले बताए।
विगतमा पनि यस्ता घटना भएको र हात्तीलाई ठक्कर दिएर मर्नेक्रम चलिरहेकाले रातको समयमा रेल नचलाउन पटकपटक रेल सञ्चालकहरूलाई आग्रह गरिएको वन्यजन्तु अधिकृतहरूले बताएका छन् ।
रेलको ठक्कर खाएर हात्ती मरेपछि दर्जनौँ स्थानीय बासिन्दा घटनास्थलमा भेला भएका थिए । उनीहरूमध्ये केहीले हात्तीका लागि प्रार्थनासमेत गरेका थिए ।
Facebook Comment