ह्याण्डपम्पबाट पानीको ठाउँमा निस्किन थाल्यो रगत, मासु र हड्डी, गाउँलेहरु त्रसित
काठमाडौं। पानी तान्नको लागि जमिनमा गाडिएको ह्याण्डपम्पबाट अचानक रगत मासु र हड्डी निस्किन थालेपछि गाउँलेहरु डराएर त्यसको नजिक पनि जान छाडेका छन् । सिंगो गाउँले प्रयोग गर्ने एकमात्र ह्याण्डपम्पबाट यस्ता कुराहरु निस्किन थालेपछि उत्तर प्रदेशको हमिरपुरको यो गाउँका गाउँलेहरुले पम्पको नजिक जानै छोडेर कैयौं टाढाको स्रोतबाट पानी बोक्न थालेको आज तकको समाचारमा उल्लेख छ ।
हमिरपुरको राठ तहसिलको जाखेडी गाउँमा १०० घरको लागि पानीको एकमात्र स्रोत यही सरकारी ह्याण्डपम्प हो । तर तिहारपछि नै यो ह्याण्डपम्पबाट पानीको ठाउँमा रगत र सडेको मासुका टुक्रा निस्किन थाले । यो देखेर गाउँलेहरु यतिसम्म भयभित भए कि उनीहरु ह्याण्डपम्पको नजिक जान समेत छाडे । यो घटनापछि गाउँलेहरुले अनेक अड्कल गर्न थालेका छन् । केहीले यसलाई भूतको छाया मानेका छन् भने केहीले यो ह्याण्डपम्पलाई श्रापित मानिरहेका छन् ।
यो ह्याण्डपम्पबाट निस्कने पानीको दुर्गन्धले स्थानीय हैरान छन् । यो घटनाको सूचना पाएपछि हमीरपुरका जिल्ला कलेक्टरले जाँचको आदेश दिए । जाँचका क्रममा यसलाई खोलेर हेरियो तर यसको खास कारण थाहा नभएपछि यसलाई फेरि बन्द गराइयो । जाँचकर्ताले ह्याण्डपम्पमा सर्प वा यस्तै किसिमको कुनै जीव फसेको र अहिले सडेर निस्केको हुन सक्ने बताएका छन् । तर गाउँलेहरु यो कुरा मान्न तयार छैनन् । यो विचित्र घटनाका विषयमा पर्यावरण विशेषज्ञ जलीज खानका अनुसार नजिकका नदी र इनारमा स्थानीयले मरेका जनावर हाल्छन् । ह्याण्डपम्पको पानीको स्रोत नितै इनार र नदीसँग जोडिएकोले यस्तो भएको हुन सक्ने सम्भावना छ ।
Facebook Comment