हैदराबाद इन्काउन्टरका विषयमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै दियो यस्तो आदेश
नयाँ दिल्ली। हैदराबादमा महिला डाक्टरको बलात्कारपछि हत्या गरेर शव जलाउने ४ आरोपीलाई पुलिसले इन्काउन्टरमा मारेको थियो । यस विषयमा सर्वोच्च अदालतमा दायर याचिकाहरुका विषयमा आज सुनुवाइ भएको छ । भारतीय मिडिया दैनिक भास्करका अनुसार सर्वोच्चले इन्काउन्टरको निष्पक्ष जाँचको लागि पूर्व न्यायाधीश भीएस सिरपुरकरको अध्यक्षतामा तीन सदस्यीय जाँच आयोग गठन गरेको छ । आयोगलाई ६ महिनामा निष्पक्ष जाँच गरी सत्य तथ्य प्रतिवेदन पेश गर्न आदेश दिइएको छ ।
सुनुवाइका क्रममा प्रधानन्यायाधीश एसए बोबडेले नागरिकलाई वास्तविकता जान्न पाउने हक हुने उल्लेख गर्दै सर्वोच्च अदालतको अर्को आदेश नहुँदासम्म गठित न्यायिक आयोगबाहेक अन्य कुनै निकायले यस विषयमा जाँच नगर्न आदेश दिएका छन् । सुनुवाइका क्रममा तेलंगना सरकारको तर्फबाट अधिवक्ता मुकुल रोहतगीले बहस गरेका थिए । उनले अदालतमा निष्पक्ष जाँचको लागि नै राज्य सरकारले जाँच टिम गठन गरेको उल्लेख गर्दै सर्वोच्च अदालतले आफ्नो तर्फबाट अर्को जाँच आयोग गठन गर्नु जरुरी नभएको दावी गरेका थिए । यद्यपि सर्वोच्चले उनको दावी अस्वीकार गर्दै जाँच आयोग गठन गरेको हो ।
अर्कोतर्फ तेलंगना हाइकोर्टले पनि गत सोमबार याचिकामा सुनुवाइ गर्दै सबै आरोपीको शवलाई १३ डिसेम्बरसम्म सरक्षित राख्न आदेश दिएको थियो । हाइकोर्टका मुख्य न्यायाधीश आरएस चौहानको अध्यक्षता रहेको बेन्चले पुलिसले यस घटनामा इन्काउन्टरको लागि जारी निर्देशनको पालन गरेको छ वा छेन भनेर प्रश्न गरेको थियो । हाइकोर्टले आरोपीहरुको पोस्टमार्टमको भिडियो महबुबनगर जिल्ला अदालतका मुख्य न्यायाधीशलाई बुझाउन पनि आदेश दिएको थियो ।
Facebook Comment