कम्पनीले कर्मचारीलाई १ अर्ब १२ करोड रुपैयाँ बोनस दिएपछि…
काठमाडौं। अमेरिकाको मेरिल्याण्डको एक रियलटेट कम्पनीले आफ्ना १९८ जना कर्मचारीलाई १ अर्ब १२ करोड रुपैयाँ (१० मिलियन डलर) बोनस दिएको छ । यसको घोषणा कम्पनीले होलिडे पार्टीमा गरेको थियो । सबै कर्मचारीलाई उनीहरुको बोनस रातो खाममा दिइएको थियो । औसतमा १ जना कर्मचारीको भागमा ५० हजार डलर (५६ लाख ४० हजार रुपैयाँ) बोनस परेको छ । कम्पनीले कर्मचारीको हातमा बोनस नपुग्दासम्म यो कुरा गोप्य नै राखेको थियो र पार्टीका दिन सबैलाई सरप्राइज दिएको थियो ।
सेन्ट जोन प्रोपर्टिज नामको यो कम्पनीका अध्यक्ष लरेन्स मेक्रन्टजले बताएअनुसार कम्पनीले १४ वर्षको अवधिमा २ करोड वर्गफिटमा निर्माण र विकासको काम गरेको छ । यो एउटा ठूलो उपलब्धी भएको भन्दै लरेन्सले यसलाई हासिल गर्न कर्मचारीहरुले धेरै सहयोग गरेको बताए । लरेन्सका अनुसार उनी कम्पनीलाई यति ठूलो योगदान दिने कर्मचारीको लागि केही ठूलो काम गर्न चाहन्थे त्यसैले कर्मचारीहरुलाई धन्यवाद स्वरुप यो सरप्राइज दिइएको हो ।
लरेन्सका अनुसार कर्मचारीलाई दिइएको सरप्राइज बोनस कम्पनीमा उनीहरुको काम र समयको आधारमा तय गरिएको छ । यसमा सबैभन्दा कम सरप्राइज बोनस १०० डलर थियो । सय डलर बोनस पाउने कर्मचारी हालै कम्पनीमा आएका वा आउन तयार रहेका कर्मचारी हुन् । कम्पनीमा सबैभन्दा धेरै बोनस पाउने कर्मचारीले १ लाख ७० हजार डलर (१ करोड ९१ लाख रुपैयाँ) बोनस पाएका छन् ।
बोनसको घोषणापछि कर्मचारी निकै खुसी थिए । पार्टीमा सबैले आ–आफ्नो कहानी सुनाइरहेका थिए । कसैले क्रेडिट कार्डको तिर्न बाँकी रकम तिर्ने भन्दै थिए भने कसैले ऋण तिर्न चाहन्थे । कम्पनीका अध्यक्ष लरेन्सका अनुसार कम्पनीको इतिहासमा यस्तो पहिलो पटक भएको हो । कम्पनीले अन्य राज्यका ८ शाखाका कर्मचारीको लागि हवाइ भाडा र होटल खर्च पनि उपलब्ध गराइएको छ । ३७ वर्षकी कर्मचारी स्टेफनी रिडग्वेका अनुसार उनलाई खाम खोल्दा पटक्कै विश्वास लागेको थिएन । त्यसमा पूरै ५० हजार डलर थियो । उनी कम्पनीमा १४ वर्षदेखि कार्यरत छिन् । उनले यो कल्पनाभन्दा बाहिरको भएको भन्दै यो अतुलनीय भएको बताएकी छिन् ।
Facebook Comment