विमानस्थलका लागि थप जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग

डिसी नेपाल
२६ मंसिर २०७६ १६:५०

पोखरा । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल वरपरका स्थानीयले विमानस्थलका लागि थप १ सय ४८ रोपनी जग्गा अधिग्रहणको निर्णय खारेज गर्न माग गरेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जनसरोकार समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा स्थानीयवासीले विमानस्थलका लागि जग्गा अधिग्रहणका नाममा एउटै व्यक्तिलाई पटक पटक उठीबास हुनुपर्ने अवस्था आएको भन्दै दुःखेसो व्यक्त गरेका छन् । समितिका अध्यक्ष गनेस पौडेलले विमानस्थल परियोजनाका लागि थातथलो दिएका स्थानीयलाई आतङ्कित गराउने गरी पुनः जग्गा अधिग्रहणको सूचना जारी गरी आतङ्कित बनाइएको बताए ।

विमानस्थल क्षेत्रमा गरिएको जग्गा अधिग्रहणले सर्वसाधारणलाई विस्थापित गरेकोे उल्लेख गर्दै उनले विस्थापितको अधिकार सम्बन्धमा भएको डब्लुटिओको प्रावधान पूरा गर्न माग गरे। विमानस्थलकै कारण नहर बन्द हुँदा झण्डै छ हजार रोपनी उर्बर भूमी बाँझो हुने अवस्थामा पुगेकाले सिँचाइको अबिलम्ब विकल्प दिन उनले माग गरे।

स्थानीय राजकुमार थापाले आफ्नो ३० रोपनी जग्गामध्ये २० रोपनी विमानस्थलकै कारण अधिग्रहणमा परिसकेकाले थप जग्गा अधिग्रहणको सूचनाले बाँकी जग्गासमेत नरहने दुःखेसो व्यक्त गरे । सरकारले आवश्यक पर्ने जग्गाको एकै पटक यकिन नगरी पटक पटक जग्गा अधिग्रहणका सूचना जारी गर्दा स्थानीयवासीलाई त्रसित बनाएको भन्दै उनले आफूहरूले थप जग्गा अधिग्रहण गर्न नदिने बताए । स्थानीय समाजसेवी किरण पौडेलले स्थानीयले उठाएका माग र पीडालाई उचित सम्बोधन गर्ने गरी समस्याको दीर्घकालीन समाधान गर्नुपर्ने धारणा राखे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *