काँग्रेसमा विवाद चर्कियो, पौडेल पक्षद्वारा बैठक बहिस्कार

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आन्तरिक विवाद चर्किएको छ। बिहीबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ।
पौडल पक्ष बैठकमा सहभागी नभएपछि संस्थापन पक्षले बैठक भने शुरु गरेको छ।
काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले पार्टी महाधिवेशनतर्फ केन्द्रित हुनुपर्ने बेला सभापति शेरबहादुर देउवाले अन्य विषयलाई बैठकको एजेण्डा बनाएकाले आफुहरु बैठकमा नगएको डिसी नेपाललाई बताए। उनले भने, ‘वर्तमान काँग्रेस केन्द्रीय कार्य समितिको पदावधि अब ३ महिनामात्र बाँकी छ। अब पार्टी महाधिवेशनमा केन्द्रित हुनुपर्ने हो। तर, सभापतिले महाधिवेशनबारे बैठकमा एजेण्डा प्रस्तुत गर्न अस्वीकार गरेपछि हामी बैठकमा गएनौं, उहाँहरु बैठकमा जानु भएको छ।’
बिहीबार केन्द्रीय समितिको बैठक शुरुहुनु अघि नेता पौडेल र सभापति देउवाबीच एक्लाएक्लै छलफल भएको थियो। सो छलफलमा नेता पौडेलले महाधिवेशनको एजेण्डा पनि बैठकमा राख्न सभापतिलाई भनेका थिए। तर, सभापति देउवाले पौडेलको प्रस्ताव अस्वीकार गरे।
यसपछि दुई नेताहरुलाई समहतिको बिन्दुमा ल्याउन मध्यमार्गी नेताहरु पनि सक्रिय भए। तर, पनि कुरा मिलेन। कुरा नमिलेपछि नेता पौडेलले पार्टी कार्यालयस्थित आफ्नो कार्यकक्षमा आफु पक्षका नेताहरुलाई बोलाएर सभापतिले आफ्नो कुरा नसुनेकाले बैठकमा जानेकी नजाने भनेर सोधेका थिए। त्यसपछि महाधिवेशनको एजेण्डा छोडेर सभापति देउवा विधानमै व्यवस्था नभएको विभागको संख्या थपेर विभाग गठनप्रति दृढ देखिएपछि बैठक बहिस्कारको तहमा पौडल पक्ष पुगेको हो।
सभापति देउवाले बिहीबार बैठकबाट विभाग गठनको तयारी गरेका छन्।
Facebook Comment