राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ९ मा हुने

काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते हुने भएको छ। सरकारले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आगामी ९ गते निर्वाचन गर्ने मिति तोकेको हो। सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन्।
राष्ट्रिय सभा स्थायी हुने संवैधानिक व्यवस्थाअनुसार पहिलो कार्यकालका लागि निर्वाचित सबै सदस्यहरुको गोलाप्रथाबाट कार्यकाल तोकिएको थियो। हाल राष्ट्रिय सभाका १ तिहाई सदस्यको कार्यकाल गोलाप्रथामाफर्त तोकिएको थियो। यसरी गोला प्रथामाफर्त २ वर्षे कार्यकाल तोकिएका सदस्यहरुको कार्यकाल आगामी फागुनमा सकिँदै छ। त्यसैले रिक्त हुने स्थानका लागि निर्वाचन हुन लागेको हो।
रिक्त हुने सदस्य जुन विधिबाट निर्वाचित भएको हो, सोही विधिअनुसार पदपूर्ति गर्नुपर्ने व्यवस्था छ। राष्ट्रियसभामाा हाल रहेका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ ।
कांग्रेसका राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईं, विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।
त्यस्तै नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ ।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ ।
Facebook Comment