उपप्रमुखसंँग महिला कार्यक्रम प्रभावकारी

डिसी नेपाल
२६ मंसिर २०७६ २१:०४

पोखरा । महिलालाई उद्यमी बनाउँदै आर्थिकरूपमा सबल र सक्षम बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले सञ्चालन गरेको उपप्रमुखसँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको छ । कार्यक्रमको प्रभावकारिता र चालू आवका कार्यक्रम सञ्चालनका लागि महिला जनप्रतिनिधिसँगको छलफलका सहभागीले कार्यक्रमले समाजमा सकरात्मक प्रभाव पार्दै महिलालाई उद्यमी बन्न प्रेरित गरेको धारणा राखे ।

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले उपप्रमुखसँग महिला कार्यक्रम नमूना परियोजनाका रूपमा अगाडि बढेको बताउँदै यसलाई उत्पादनमा जोड दिँदै स्वरोजगार सिर्जना गरी महिलालाई आत्मनिर्भर बनाउन महानगरको सहयोग रहने विश्वास व्यक्त गरे । महानगरले अनुदान र तालिम दिने बजेट घटाएर उद्यमी बनाउने नीति लिएको बताउँदै उनले भने, “तालिम गरेर, भत्ता बाँडेर परिणाम आउँदैन, परिश्रम गरेपछि मात्र परिणाम निकाल्न सकिन्छ ।”

उपप्रमुख एवं कार्यक्रमका संयोजक मञ्जुदेवी गुरुङले महिलालाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बनाउने योजनाअनुसार कार्यक्रम ल्याइएको बताइन्। महानगरले अघिल्लो वर्ष दुई करोड विनियोजन गरेको भए पनि यसवर्ष थप गरी तीन करोड विनियोजन गरेको बताउँदै उनले कार्यक्रममार्फत विपन्न, एकल, अपाङ्गता भएका र हिंसापीडित महिलाका लागि प्राथमिकता दिँदै ऋण लगानी गरिएको बताइन्।

कार्यक्रममा कार्यपालिका सदस्य राधिका शाही योगी, अञ्जु क्षेत्री, पार्वती कार्की, किरण गौतम, हरिमाया विक, भोजकुमारी थापालगायतले कार्यक्रममा महिला जनप्रतिनिधिसँगको समन्वय आवश्यक रहेको धारणा राखेका थिए । महानगरका ३३ वटै वडाबाट आउने मागलाई उपप्रमुखसँग महिला सञ्चालक समितिको बैठकले आवश्यकता र कार्यक्रमका आधारमा निर्णय गरेपछि ऋण लगानी गर्ने व्यवस्था रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *