गुवाहाटीमा नागरिकता विधेयकको विरोध गर्नेमाथि प्रहरीले चलायो गोली, दुईजनाको मृत्यु

डिसी नेपाल
२६ मंसिर २०७६ २२:२७

नयाँ दिल्ली (एजेन्सी) । भारत सरकारले नागरिकता शंसोधन विधेयक पारित गरेको विरोधमा बिहीबार भारतको पूर्वी उत्तरको राज्य आसाममा भएको विरोध प्रदर्शनका क्रममा २ जना प्रदर्शनकारीको मृत्यु भएको छ । आसामको गुवाहाटीमा बिहीबार प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
विरोध प्रदर्शन हिंस्रक भएपछि त्यहाँ प्रशासनले कर्फ्यू लगाएको छ। भारतीय नागरिकता ऐनमा संशोधन गरेर बांगलादेश, पाकिस्तान र अफगानिस्तानबाट भारत प्रवेश गर्ने गैरमुस्लिमलाई बसोबास गरेको ६ वर्षपछि भारतीय नागरिकता दिने व्यवस्था गरिएको छ। यसले भारतमै विरोध जन्माएको छ, छिमेकी बांगलादेश र पाकिस्तानमा पनि विरोध भएको छ।

भारतीय संसदले बुधबार अबेर सो विवादास्पद विधेयक बहुमतबाट पारित गरेको थियो। बुधबारदेखि नै अशान्त बनेको भारतको पूर्वी उत्तर राज्यहरु आशाम र मणिपुरमा यो विधेयकको विरोधमा नेपाली भाषी र मुस्लिमहरु आन्दोलित भएका छन्। उनीहरुले यो कानूनले आफुहरुलाई देश भित्रै अनागरिक बनाउने बताएका छन्। उता मुस्लिमहरुले भने आफुहरुमाथि धर्मका नाममा अन्याय भएको बताएका छन्।

भारतमा हिन्दु अतिवादी पार्टी भाजपाको सरकार छ। भाजपा सरकारले धर्म निरपेक्ष भारतलाई हिन्दु राष्ट्र बनाउन लागेको मुस्लिम समूदायको आरोप छ। प्रमुख विपक्षी दल काँग्रेस आईले भने यो संशोधन भारतीय संविधान विरोधी भएको बताएको छ। धर्म निरपेक्ष भारतमा धर्मका नाममा भाजपा सरकारले देशलाई विभाजन गरेको र प्रधानमन्त्री नरेन्द्र मोदीले भोटको राजनीति गरेको प्रतिक्रिया दिएको छ।

उता नेपाली भाषीहरु पनि आन्दोलित भएपछि यो संशोधनले परोक्ष रुपमा नेपाललाई पनि प्रभावित पार्ने देखिएको छ। दार्जिलिङ र आसाममा नेपाली भाषीमाथि हुने अन्यायमा काठमाडौं संवेदनशील बन्दै आएको छ। नयाँ संशोधनले नेपाली भाषीबारे कुनै व्यवस्था नगरेपछि हालै राष्ट्रिय परिचय पत्रबाट विमुख गरिएका नेपाली भाषी आन्दोलित बन्न पुगेका हुन्। पुर्खौदेखि भारतमा बस्दै आएका लाखौं नेपाली भाषीहरुको नाम हालै सार्वजनिक गरिएको राष्ट्रिय परिचय पत्रमा समावेस गरिएको छैन। र केन्द्रीय गृहमन्त्री अमित शाहले उनीहरुलाई घुषपैठिया भनेका थिए। यसले नेपाललाई पनि भारतको नागरिकता विधयकमा परोक्ष रुपमा तानिदिएको छ।

भारत भित्रै पनि यो विधेयकको व्यापाक विरोध भएको छ। गुहाटीमा बुधबारदेखि नै कर्फ्यू लगाइएको छ भने शिलोंगमा बिहीबारदेखि कर्फ्यू लगाइएको छ। त्यहाँ इन्टरनेट सेवा पनि बन्द गरिएको छ।

यो संशोधनको कैयौं भारतीय हस्तीहरुले विरोध जनाएका छन्। कलाकार, प्रशासक, सुरक्षाकर्मीहरुले यो नागरिकता ऐन संशोधनको विरोध गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *